समाचार

धनुषा कांग्रेस सभापतिमा त्रिपक्षीय प्रतिस्पर्धा

काठमाडौं । नेपाली कांग्रेस धनुषाको सभापतिमा कांग्रेसको तीन समूहका नेताबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

यही फागुन १५ गते हुने काँग्रेसको जिल्ला अधिवेशनमा सभापतिका लागि संस्थापन पक्ष, कोइराला पक्ष र निधि पक्षबाट उम्मेदवारी घोषणा भएसँगै त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको हो । पार्टीको जिल्ला सभापतिका लागि आज शेखर कोइराला समूहबाट दिनेशप्रसाद प्रसैलाले उम्मेदवारी घोषणा गरेका हुन्।

प्रसैलाले कोइराला पक्षका नेता बद्री पाण्डेको उपस्थितिमा आज जनकपुरधाममा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् । पूर्वसांसद प्रसैलाले संस्थापन पक्ष विभाजित अवस्थामा रहेकाले आफू सभापतिमा जित्ने दाबी गरे ।

यसअघि नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा समूहबाट दीपक यादव र विमलेन्द्र निधि समूहबाट क्षिरेश्वरनाथ नगरपालिकाका योगेन्द्र पञ्जियारले उम्मेदवारी घोषणा गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *