समाचार

कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिमा ७ जना मनोनीत

हेटौंडा।नेपाली कांग्रेस बागमती प्रदेश समितिले प्रदेश सभापतिमा पराजित जगदीश्वरनरसिंह केसीसहित ७ जनालाई कार्यसम्पादन समितिमा मनोनीत गर्ने निर्णय गरेको छ। सिन्धुपाल्चोकमा आइतबार सम्पन्न दोस्रो बैठकले नेता केसीसहित ७ जनालाई कार्यसम्पादन समितिमा मनोनीत गर्ने निर्णय गरेको हो।

केसीसहित लामा कर्पु तामाङ, बलबहादुर दमाई, कल्पना खड्का, मसिना खड्का भण्डारी, दीर्घमान श्रेष्ठ र दीपेन्द्र आचार्यलाई कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेको छ। बैठकले स्थानीय निकायको निर्वाचन लक्षित गर्दै अघिल्लो स्थानीय तह निर्वाचनमा भएको मत संख्यासमेतको डाटा संकलन गरी, आगामी दिनमा खेल्नुपर्ने भूमिकासहित प्रदेशले जिल्ला पार्टीमा १५ दिनभित्र पठाउने र जिल्लामार्फत् स्थानीय निकायमा पठाउने निर्णय गरेको छ।

बैठकले एमसिसीका सम्बन्धमा केन्द्रले उठाएको विषयवस्तु समावेश गरी आम जनताले बुझ्ने सरल र स्पष्ट भाषामा थप विषयवस्तु तयार गरी जिल्लामार्फत् स्थानीय निकायमा पठाई जनतालाई बुझाउने निर्णय गरेको सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए। प्रदेशको प्रधान कार्यालय हेटौंडा र काठमाडौंको सम्पर्क कार्यालय नियमित सञ्चालन गर्दै पार्टीको दैनिक राजनीतिक कार्यक्रम शुरु गर्ने, प्रदेश सदस्यहरूको मर्यादाक्रम मिलाउन संयोजक महामन्त्री कञ्चनचन्द्र बादे र सदस्यहरूमा सहमहामन्त्री जीवन डंगोल र ऋषिराम घिमिरे तोकिएका छन्।

प्रदेशको दोस्रो पूर्ण बैठक सिन्धुपाल्चोकको सुकुटेमा सफलतापूर्वक सम्पन्न गर्न भूमिका निर्वाह गर्ने सिन्धुपाल्चोक कांग्रेस र केन्द्रीय सदस्य मोहन बस्नेतलाई विशेष धन्यवाद दिने निर्णय गरेको छ। बैठकले प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्य र विभिन्न समिति र विभागका सदस्यहरूको मासिक लेभी तोकेको छ भने कांग्रेस बागमती प्रदेश संसदीय दललाई प्रदेशसभा सदस्यबाट पार्टी केन्द्रमा बुझाउँदै आएको मासिक लेभी प्रदेश कार्यसमितिलाई बुझाउन पत्राचार गर्ने निर्णय पनि गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *