समाचार

‘बयलकाँडा साहसिक पर्यटनको आकर्षण केन्द्र ’

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले वीरेन्द्रनगर नगरपालिका–१४ सुर्खेतको बयलकाँडा साहसिक पर्यटनको आकर्षण केन्द्र बन्दै गएको बताउनुभएको छ ।

“गोठीकाँडामा पर्ने बयलकाँडा सुर्खेत उपत्यकाको शिर जस्तै छ”, बयलकाँडा क्षेत्रको मंगलबार अवलोकन गर्दै उनले भने, “प्राकृतिक सुन्दरताले भरिएको यस ठाउँबाट सुर्खेत उपत्यकाको दृश्यावलोकन अझ बढी मनमोहक बन्दो रहेछ ।”

ऐतिहासिक महत्वको बयलकाँडाको पर्यटन प्रवद्र्धन गर्नका लागि प्रदेश र सङ्घ सरकारसँग आवश्यक पहल गर्न आवश्यक रहेको उनको भनाइ थियो । उक्त क्षेत्रमा वेलकम प्याराग्लाइडिङ कम्पनीले दुई सातादेखि उक्त साहसिक खेल सुरु गरिरहेको छ ।

वीरेन्द्रनगर–१४ वडाध्यक्ष टोपबहादुर दर्लामीले पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटक बढ्दै गए पनि सरकारको संस्थागत, नीतिगत, योजनागत विकास र पूर्वाधारमा लगानी नहुँदा यहाँको अपेक्षित विकास हुन नसकेको बताए । सङ्घीय र प्रदेश सरकारको उचित ध्यान नपुग्दा गोठीकाँडा राजधानीको समिपमा बत्ती मुनिको अँध्यारो जस्तै भएको उहाँको भनाइ थियो ।

स्थानीयवासी पार्वती थापाले यहाँ आउने जतिले यहाँको विकासका लागि उचित पहल गर्छौं भन्ने वचन दिए पनि अहिलेसम्म कुनै सहयोग नभएको दुखेसो व्यक्त गनुभयो । उहाँले पानी, बत्ती र पक्की बाटोका समस्याका बारेमा पहल गरिदिन प्रदेश प्रमुख परियारसँग अनुरोध गर्नुभयो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *