काठमाडौँ । घरेलु टोली अष्ट्रेलियाले श्रीलंकाविरुद्धको ५ खेलको टी–ट्वान्टी सिरिजमा कब्जा जमाएको छ । मंगलबार मनुका ओभल स्टेडियममा भएको तेस्रो खेलमा ६ विकेटको जित हात पार्दै अष्ट्रेलियाले २ खेल अगावै सिरिजमा आफ्नो पोल्टामा पार्न सफल भएको हो ।
श्रीलंकाले दिएको १२२ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १६.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । अष्ट्रेलियाका लागि ग्लेन माक्सवेलले सर्वाधिक ३९ रन बनाए भने कप्तान आरोन फिन्चले ३५ रन जोडे । त्यस्तै, जोश इंग्लिस २१ रनमा अविजित रहँदा अष्टन अगरले १३ रन जोडे ।
श्रीलंकाका लागि महिश थिकसानाले ३ विकेट लिए ।
त्यसअघि श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२१ रन बनाएको थियो । श्रीलंकाका लागि कप्तान दसुन शानाकाले ३९ रन जोडे । त्यस्तै, दिनेश चन्डिमलले २५ तथा पाथुम निसान्काले १६ रन बनाए ।
अष्ट्रेलियाका लागि केन रिचाडृसनले ३ विकेट तथा जोश ह्याजलउड, माक्सवेल र अष्टन अगरले एकएक विकेट लिए ।
श्रीलंकाविरुद्ध सिरिजको पहिलो खेलमा २० रनको जित हात पारेको अष्ट्रेलियाले दोस्रो खेलमा सुपर ओभरमा विजयी भएको थियो । सुपर ओभरमा श्रीलंकाले एक विकेट गुमाएर मात्र ५ रन जोडेको थियो भने अष्ट्रेलियाले ९ रन बनाएको थियो ।




