काठमाडौं । इन्जुरी समयमा लुक डि जङको गोलसंगै आइतबार राति भएको स्पेनिस ला लिगाको खेलमा बार्सिलोनाले हार टारेको छ । अन्तिम समयमा लुकको गोलसंगै बार्सिलोनाले स्पान्योलसंगै २-२ गोलको बराबरी खेल्दै अंक बाढेको हो ।
तनावपूर्ण बनेको खेलमा घरेलु टोली स्पान्योल ९ तथा बार्सिलोना १० खेलाडीमा सिमित भएका थिए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा विवादमा उत्रिएका बार्सिलोनाका जेरार्ड पिके र स्पान्योलका निको रिवाउडो दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए । त्यसपछि इन्ज्युरी समयको छैटौं मिनेटमा मनु मोर्लानेस सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि स्पान्योल ९ खेलाडीमा समेटिएर खेलको अन्त्य गरेको थियो ।
त्यसअघि खेलमा भ्रमणकारी टोली बार्सिलोनाले सुरुवाती अग्रता बनायो । दोस्रो मिनेटमै पेड्रीले जोर्ड अल्बाको पासमा गोल गरे ।
सर्जि डारडरले ४०औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । राहुल थोमसले ६४औं मिनेटमा गोल गर्दा घरेलु टोली २-१ ले अगाडि बढ्यो । तर लुकले इन्जुरी समयको छैटौं मिनेटमा गोल गर्दै खेल बराबरी ल्याए ।
बराबरी रोकिएसंगै २३ खेलबाट ३९ अंक सहित चौथो स्थानमा छ । २४ खेलबाट २८ अंक सहित स्पान्योल १३औं स्थानमा छ । जारी ला लिगामा ५४ अंक सहित रियल मड्रिड शीर्ष स्थानमा छ ।




