खेलकुद

च्यासलमाथि मछिन्द्रको सहज जित

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगमा उपाधिको होडमा रहेको मच्छिन्द्र क्लबले रेलिगेसन जोनमा रहेको च्यासल युथ क्लबलाई २–० गाेल अन्तरले हराएको छ ।

दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रको जितमा विमल घर्तिमगर र सुनील बलले गोल गरे । खेलको सुरुवातदेखि नै आक्रामक खेल खेलेको लिगको उपाधि होडमा रहेको मच्छिन्द्रले १७औँ मिनेटमा अग्रता लिन सफल भयो । उसका लागि बिमल घर्तिमगरले उत्कृष्ट फिनिस गरे ।

त्यसपछि ३५औँ मिनेटमा मच्छिन्द्रले खेलमा दुई शून्यको अग्रता बनायो । उसका लागि सुनिल बलले उत्कृष्ट गोल गरे । उनले बिमल घर्तिमगरको पासमा डिबक्स भित्रबाट उत्कृष्ट गोल गर्न सफल भए । यो हारले च्यासल भने रेलिगेसनको दबाव झन बढेको छ । यो जितपछि मच्छिन्द्रको १० खेलमा २६ अंक भएको छ । च्यासलको भने ५ अंक छ ।

यस्तै, शनिबार नै सातदोबाटोस्थित एन्फा कप्लेक्समा शनिबार भएको खेलमा सातदोबाटोले पुलिसलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

सातदोबाटोलाई जित दिलाउन आकाश बुढा मगरले निर्णायक गोल गरे । आकाशले खेलको १९औँ मिनेटमा पेनाल्टीमा गोल गरेका हुन् । पुलिसका हेमन्त श्रेष्ठले पेनाल्टी क्षेत्रभित्र आकाशलाई फउल गर्दै लडाएपछि सातदोबाटोले पेनाल्टीको अवसर पाएको थियो । जसमा आकाश चुकेनन् ।

यससँगै नवप्रवेशी क्लब सातदोबाटोले पुलिसमाथि पहिलो भेटमै जित निकाल्न सफल भएको छ । यस जितसँगै सातदोबाटोले १० खेलमा १५ अंक जोडेको छ । पुलिसले १० खेलमा १० अंक जोडेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *