कला/साहित्य

नम्रता श्रेष्ठको कथामा ‘वरदान’ सार्वजनिक

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको सर्ट फिल्म ‘वरदान’ रिलिज भएको छ।

निर्देशक दीपेन्द्र लामाको लेखन र निर्देशन रहेको फिल्म गज्जब टिभी युट्युब च्यानलबाट रिलिज भएको हो। शुभ मिडिया होमले निर्माण गरेको फिल्म २४ मिनेट अवधिको छ।

२०७६ सालको ‘जायरा’पछि नम्रताले अभिनय गरेको यही पहिलो फिल्म हो। ‘डिप्रेसनबाट गुज्रिरहेका र आत्महत्याको जोखिममा रहेकाहरुलाई परामर्श दिने काममा म बेलाबखत सहभागी हुँदै आएको छु,’ नम्रताले भनिन्, ‘समस्यासँग जुधिरहेका मानिस र उनीहरुका अभिभावक तथा साथीभाइहरूलाई सजग गराउन यस्ता फिल्मले धेरै योगदान दिनसक्छ ।’

फिल्मले आत्महत्या रोकथामको विषयलाई उठाउँदै मानसिक स्वास्थ्यको संवेदनशीलतालाई सबैले ध्यान दिनुपर्ने विषय उठान गरेको छ । निर्देशक लामाले कोभिड १९ पछि भएका लकडाउनले नेपालमा आत्महत्या बढेको समाचार पढेपछि आफूलाई ‘वरदान’को कथा लेख्न प्रेरित गरेको बताए । ‘अत्महत्या रोकथाममाथि विदेशमा अनगिन्ती सर्ट फिल्म बनेका रहेछन् । नेपालमा पनि यो जरुरी छ भन्ने लाग्यो । र, वरदानको कामलाई अगाडि बढाएँ,’ उनले भने ।

लकडाउनको बेला म्युजिक भिडियोमा छाएका दयाहाङले यो सर्ट फिल्ममा अभिनय गर्दा फरक अनुभव प्राप्त भएको सुनाए । फिल्ममा शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेश श्रेष्ठको संगीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन छ ।

फिल्ममा लुनिभा तुलाधर, प्रवीण खतिवडा, जयनन्द लामा, पुष्कर गुरुङ, शारदा गिरी, सुनिता श्रेष्ठ र कृष्णभक्त महर्जनको पनि अभिनय छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *