काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं संघीय सांसद सुदन किराँतीले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे जनमत संग्रह गनुपर्ने धारणा राखेका छन् ।
सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै नेता किराँतीले एमसीसी राष्ट्रघाती सम्झौता भएको बताए । यदि कसैलाई एमसीसी राष्ट्रको हितमा छ भन्ने लाग्छ भने पुष्टि गरेर देखाउन पनि उनले चुनौति दिएका छन् । साथै प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई पत्र लेख्नु गल्ती भएको पनि उनले बताएका छन् ।
एमसीसी बारेमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिबाट पनि आवाज उठाउन आग्रह गर्दै उनले भन– ‘हामीले भनौं, सकिन्छ भने जनमत संग्रह गरौं, सकिन्न भने गोलमेच सम्मेलन गरेर एउटा आवाज निर्माण गरौं।’
सत्ता गठबन्धनमा प्रधानमन्त्री देउवाले एमसीसी पास गर्नुपर्ने दवाब बढाएसँगै नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले देउवाको उक्त कदमको विरोध गरिरहेका छन् ।
यता सत्ता प्रतिपक्षी दल नेकपा एमालेले भने देउवासँग विविध शर्तहरु राखेर एमसीसीको च्याँखे थापिरहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना शर्ता पुरा भएमा एमसीसी पास गराउन सहयोग गर्ने देउवालाई वचन दिएका बताइएको छ ।




