समाचार

आईपीएल २०२२ को मेगा अक्सनमा सन्दीपको आधारमूल्य ४० लाख भारु

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को मेगा अक्सनमा नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेको आधारमूल्य ४० लाख (६४ लाख नेपाली रुपैयाँ) भारतीय मुख्य तोकिएको छ ।

नेपालबाट १५ खेलाडीको नाम आईपीएल अक्सनका लागि दर्ता गरिएको थियो । तर अक्सनका लागि राइट आर्म लेग स्पिनर सन्दीपमात्र छनोट भएका छन् ।

सन्दीपलाई २०१८ मा दिल्ली डेयरडेभिल्सले आधार मूल्य २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । त्यस सिजन सन्दीपले अन्तिम तीन खेलमा ५ विकेट लिएका थिए ।

२०१९ मा सन्दीपले दिल्लीबाट ६ खेलमा ८ विकेट लिएका थिए । २०२० मा भने सन्दीपले मौका पाएनन् । २०२१ मा सन्दीपले आफ्नो आधारमूल्य ४० लाख भारु राखेपनि कुनैपनि टोलीले मूल्य लगाएका थिएनन् ।

अक्सनका लागि एसोसिएट राष्ट्रबाट ४१ खेलाडी मेगा अक्सनका लागि रजिस्ट्रेसन भएका थिए । अक्सनका लागि कुल एक हजार २१४ खेलाडीले रजिस्ट्रेसन गरिएको थियो । त्यसमध्ये ५९० खेलाडी अक्सनका लागि सूचीकृत भएका छन् ।

नेपालबाट सन्दीपबाहेक दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, कुशल मल्ल, शरद भेषावकर, विनोद भण्डारी, अविनाश बोहरा, आरिफ शेख, सुशन भारी, रोहित पौडेल, कुशल भुर्तेल, सन्दीप जोरा, पवन सर्राफ र आसिफ शेखको नाम दर्ता गरिएको थियो । तर अक्सनका लागि सन्दीपको नाम मात्र परेका छ ।

अक्सनका लागि भएको सर्ट लिस्टमा ५९० मध्ये ३७० भारतीय र २२० विदेशी खेलाडी छन् । अफगानिस्तानबाट १७, अस्ट्रेलियाबाट ४७, बंगलादेशबाट ५, इङ्ल्यान्डबाट २४, आयरल्यान्डबाट ५, न्युजिल्यान्डबाट २४, दक्षिण अफ्रिकाबाट ३३, श्रीलंकाबाट २३, वेस्टइन्डिजबाट ३४, नामिबियाबाट ३, स्कटल्यान्डबाट २, जिम्बाब्वे, नेपाल र अमेरिकाबाट एक एक खेलाडी परेका छन् ।

आईपीएलमा १० टोलीले ३३ खेलाडी रिटेन गरिसकेका छन् । आईपिएल अक्सन १२ र १३ फेब्रुअरीमा बैंगलोरमा हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *