काठमाडौँ । घरेलु टोली वेस्टइन्डिजले इंग्ल्यान्डसँगको पाँच टि२० आई खेलको सिरिज जितेको छ । सोमबार विहान पाँचौं तथा अन्तिम खेलमा इंग्ल्यान्डलाई १७ रनले हराउँदै वेस्टइन्डिजले सिरिजमा ३–२ को कबजा जमाएको हो ।
१ सय ८० रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९.५ ओभरमा १ सय ६२ रन बनाउँदै अल आउट हुन पुग्यो । इंग्ल्यान्डका लागि इंग्ल्यान्डका जेम्स भिन्सले सर्वाधिक ५५ रन तथा साम विलिंग्सले ४१ रन बनाउनुबाहेक अन्य खेलाडी क्रिजमा टिक्न सकेनन् ।
इंग्ल्यान्डलाई सस्तैमा समेट्न वेस्टइन्डिजका मध्य गतिका बलर जेसन होल्डरले कीर्तिमानी ह्याट्रिकसहित ५ विकेट लिए । टि२० आई इतिहासमा चार बलमा चार विकेट लिने उनी चौथो बलर बने । अकिल हुसैनले ४ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो । वेस्टइन्डिजका लागि कप्तान काइरन पोलार्ड ४१ रन तथा रोभम्यान पावेल ३५ रनमा अविजित रहँदा ब्रेन्डन किङ ३४ रन, काइल मेयर्स ३१ रनमा आउट भए ।
इंग्ल्यान्डका स्पिनर आदिल राशिद र लियाम लिभिङस्टोनले २–२ विकेट लिए ।




