संकल्पखबर । दार्चुला जिल्लाको हिमाली क्षेत्रमा बाक्लो हिमपातका कारण जनजीवन कष्टकर बनेको छ । दुई दिनसम्म परेको भारी हिमपात कारण कष्टकर जीवन बिताउनुपरेको छ ।
व्यासको छाङ्गरुमा रहेका सुरक्षाकर्मीले हिमपातका कारण कष्टकर जीवन बिताउनु परेको बताए ।
‘सशस्त्र प्रहरी गुल्म बाहिर निस्कन सकिने अवस्था छैन, हिउँ पग्लाएर पानी खाएका छौं, दुई फिट बढी हिउँ जमेको, पानी पाइप पूरै बरफ बनेको छ, पानी खाने विकल्प नभएपछि हिउँ पग्लाएर पानी बनाएर पिउँछौं ’ त्यहाँका सुरक्षाकर्मीले भने ।
चिसो अत्यधिक बढेका कारण बिहानदेखि रातिसम्म आगो तापेर दैनिकी बिताउनु परेको छ । अहिले यो क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र गाउँमा एक जना चौकीदारमात्रै छन् ।
पहिल्यैकै हिउँ पग्लिन नपाउदैं थप हिउँ परेपछि झन् जाडो ह्वात्तै बढेको छ। गाउँसम्मै बाक्लो हिमपात भएपछि चारैतिर सेताम्य भएको छ। अहिले सशस्त्र बसेको गागाबाट छाङ्गरुसम्म जानै मुस्किलको अवस्था आएको छ।
यस क्षेत्रमा गत वर्षदेखि सशस्त्र प्रहरी बाह्रैमास बस्न थालेको हो । गत वर्ष पनि यो क्षेत्रमा सशस्त्र प्रहरीले हिउँ पग्लाएरै पानीको प्रयोग गर्नु परेको बताएँ ।
जिल्लाको अपिहिमाल, नौगाड, मार्मा, दुहूँ, व्यास र मालिकार्जुन गाउँपालिकाको उच्च भू–भागमा भारी हिमपात भएको छ। राष्ट्रकै सातौं धाम मालिकार्जुनमा लामो समयपछि भारी हिमपात भएको छ ।
स्थानीय गणेशसिंह धामीका अनुसार मालिकार्जुन क्षेत्रको सडक तथा मन्दिर क्षेत्र वरपर हिउँ जमेको छ।
यस्तै, नौगाड क्षेत्रमा पनि भारी हिमपात भएको छ। नौगाडको सिप्टी, इयरकोट, दल्लेखलगायतका क्षेत्रमा भारी हिमपात भएको सन्तोषसिंह ठगुन्नाले बताए।




