खेलकुद

अस्ट्रेलियन ओपनः नाडाल कीर्तिमानी ग्रान्ड स्लामको उपाधि नजिक

काठमाडौं । कीर्तिमानी २१औं पटक ग्रान्डस्लाम जित्ने लक्ष्यमा रहेका स्पेनिस राफेल नाडाल अस्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेका छन् ।

शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा नाडालले माटेओ बेरेटिनीलाई ३-१ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेका हुन् ।सुरुआती दुई सेट क्रमशः ६-३ ६-२ ले सहजै जितेका नाडालले तेस्रो सेट ३-६ ले गुमाएका थिए । चौथो सेटमा भने नाडालले ६-३ को सहज जित निकाल्दै फाइनलमा स्थान बनाए ।

नाडालले क्वार्टरफाइनलमा क्यानडाका डेनिस सापोभालोभमाथि रोमाञ्चक जित हात पार्दै सेमिफाइनलमा स्थान बनाएका थिए भने बेरेटिनीले गेल मोन्फिल्सलाई पराजित गर्दै नाडालसँगको सेमिफाइनल भेट पक्का गरेका थिए ।

दोस्रो सेमिफाइनल विश्व नम्बर दुई ड्यानियल मेड्भेडेभ र विश्व वरीयताको चौथो स्थानका स्टेफानोस सित्सिपासबीच हुनेछ । नाडालसँगै रोजर फेडेरर र नोभाक जोकोभिचले समान २० पटक ग्रान्डस्लाम जितेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *