समाचार

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

राँझा। काठमाडौंको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका–११ गोलपार्कमा सुविधा सम्पन्न भ्यूटावर निर्माण भइरहेको छ ।

कोहलपुरको मौलिक पहिचान झल्कने गरी घण्टाघरसहितको १० तल्ले सुविधा सम्पन्न सो भ्यूटावरको निर्माण अन्तिम चरणमा पुगेको छ । लिफ्टसहितको सुविधासम्पन्न सो भ्यूटावर कोहलपुर नगरपालिकाले गौरवको योजनाभित्र पारेर निर्माण गरेको नगरप्रमुख लुटबहादुर रावतले जानकारी दिए । उनका अनुसार भ्यूटावरको भौतिक प्रगति ७० प्रतिशतभन्दा बढी भइसकेको छ । लिफ्ट जडानसहित रङरोगन र सजावटको काम बाँकी रहेको बताएको छ ।

नगरप्रमुख रावतले दश तल्लाको उचाइसहित निर्माण भएको भ्यूटावरमा समयको जानकारी गराउने उद्देश्यले घडी राखिने बताउँदै लिफ्टबाट माथि जान सकिने र भ्यूटावरबाट कोहलपुरको चारैतिरको रमणीय दृश्यावलोकन गर्न सकिने जानकारी दिए । पाँच करोड ८८ लाखको लागतमा अत्याधुनिक भ्यूटावर निर्माण भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बताए । भ्यूटावरले कोहलपुर क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उनको भनाइ छ । भ्यूटावर चढ्न कोहलपुर नगरपालिकाले शुल्क निर्धारण गर्नुका साथै कफीसपको समेत व्यवस्था हुने प्रमुख प्रशासकीय अधिकृत ढकालको भनाइ छ ।

नौ रेक्टर स्केलको भूकम्पले पनि क्षति नपुग्ने गरी भ्यूटावर निर्माण भइरहेको कोहलपुर नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इञ्जीनियर बालकृष्ण महतराले जानकारी दिए । भ्यूटावर पुग्न एकपटक १५ जना जानसक्ने क्षमताको लिफ्ट बन्ने बताउँदै उनले भ्यूटावरमा दृश्यावलोकनका लागि एकपटकमा ५० जना जान सक्ने क्षमता हुने उल्लेख गरे । विगतमा कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण यसको निर्माण कार्य केही प्रभावित भए पनि अहिले उत्साहजनकरूपमा काम भइरहेको उनले बताए ।

यही माघ २५ गतेसम्म कार्यसम्पन्न गर्ने गरी निर्माण कम्पनी जय भवानीले सम्झौता गरेकामा कोभिडका कारण थप छ महिना म्याद थपको माग भएको छ । भौतिक पूर्वाधार निर्माण कार्यसम्पन्न भए पनि अन्तिम फिनिसिङ कार्य सम्पन्न गर्नका लागि म्याद थपको अनुरोध गरेको जय भवानी निर्माण सेवाका सञ्चालक अर्जुन पनेरुले बताए । उनले घामपानी केही नभनी निर्माण धमाधम गरे पनि कोभिडका कारण केही प्रभावित भएको उल्लेख गरेका छन् ।

निर्माण नसकिँदै भ्यूटावर अवलोकन गर्न सर्वसाधारण पुग्ने गरेका छन् । भ्यूटावरले कोहलपुरमा अन्तरिक पर्यटन प्रवद्र्धन गर्ने नगरकार्यपालिका सदस्य एवं आर्थिक विकास शाखा संयोजक डिलबहादुर परियारले बताए । १० तल्ले सुविधा सम्पन्न सो भ्यूटावर सर्वसाधारणका लागि निक्कै आकर्षक हुने विश्वास लिएको उनले बताएका छन् । उनका अनुसार नगरपालिकाले सुरु गरेको ठूला आयोजनाको निर्माण यही आर्थिक वर्षमा सम्पन्न गर्ने गरी धमाधम भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *