विश्व

इन्डोनेसिया विभिन्न समुदायका नागरिकबीचको भिडन्तमा १९ को मृत्यु

जाकर्ता । इन्डोनेसियाको पश्चिमी पपुवामा मंगलबार बिहानी पख एक रात्रि क्लबमा भएको द्विपक्षीय भिडन्तमा परी कम्तीमा पनि १९ जनाको ज्यान गएको छ । ती दुई समूहबीचको आपसी झडपले उग्र रुप लिएपछि उक्त रात्रि क्लबमा रहेका सर्वसाधारणको पनि ज्यान गएको बताइएको छ ।

सोमबार राति पश्चिमी पपुवाको सोरोग नगरमा रहेको एक रात्रि क्लबमा जम्मा भएका व्यक्तिहरुबीच झडप भएको थियो । सो झडपमा परी सुरुमा एक जनाको ज्यान गएको थियो ।

त्यसपछि त्यहाँ रहेका अरु पनि भिडन्तमा उत्रिएका थिए । सो झडपपछि उक्त क्लबमा आगजनी गरिएको बताइएको छ । त्यसमा परेर १९ जनाको ज्यान गएको र अरु कैयौँ नागरिक घाइते पनि भएका छन् ।

पश्चिमी पपुवा प्रान्तका प्रहरी प्रमुख आदम एर्दिनीले सोमबार मध्यराति देखि झडप सुरु भएको जानकारी दिएका छन् । उनले भनेका छन्– सुरुमा दुईजनाबीचको सामान्य विवादले पछि उग्र रुप लिएको थियो । उनीहरुको आन्तरिक झगडाका कारण त्यहाँ ठुलो संख्याका नागरिकको ज्यान गएको उनले बताए ।

सो रात्रि क्लबको बाहिर पार्किङ गरी राखिएका कारहरुमा पनि आगजनी गरिएको छ । मध्यरातिदेखि नै प्रहरीले सो भिडन्त नियन्त्रणमा लिने प्रयास गरे पनि त्यस अगावै धेरै नागरिकको ज्यान गइसकेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *