काठमाडौँ ।कोभिड–१९ को सङ्क्रमण तीव्ररूपमा बढेपछि सरकारले सबैजसो शैक्षिक संस्थाहरूमा भौतिक कक्षामा रोक लगाएको छ । केही शैक्षिक संस्थाले अनलाइनमार्फत कक्षा सञ्चालन गर्दै आएका छन् ।
त्रिभुवन विश्वविद्यालयले पनि यही माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ । विश्वविद्यालय मातहतका सबै क्याम्पसहरूबाट माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन हुने त्रिविले जनाएको छ ।
त्यसका लागि सवै क्याम्पस तथा विभागलाई माघ १० भित्र अनलाइन कक्षाको रूटिन बनाइसकेर रूटिन डिन कार्यालयमा पठाउन निर्देशन गरिएको छ ।
रजिष्ट्रार कार्यालयको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले आइतबार सूचना जारी गर्दै अनलाइन कक्षा व्यवस्थित गर्न सहायक क्याम्पस प्रमुखको नेतृत्वमा सात सदस्यीय अनलाइन कक्षा व्यवस्थापन समिति गठन गर्न पनि त्रिविले निर्देशन दिएको छ ।




