काठमाडौँ । भारतीय महिला टेनिस खेलाडी सानिया मिर्जाले सन्यासको घोषणा गरेकी छन् ।उनले बुधबार अस्ट्रेलियन ओपनमा महिला डबल्सको पहिलो राउण्डको खेल हारेपछि २०२२ डब्ल्यूटीए भ्रमण उनको अन्तिम सिजन हुने बताएकी हुन् । त्यसपछि उनले टेनिसबाट सन्यास लिनेछन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार मिर्जाले भनिन्- ‘मैले यो मेरो टेनिसको अन्तिम सिजन हुने निर्णय गरेको छु । म यसलाई एक हप्ताको आधारमा खेलिरहेको छु, मलाई थाहा छैन म यो सिजन खेल्न सक्छु, तर म यो सिजन खेल्नेछु ।’
बुधबार सानिया मिर्जा र उनको युक्रेनी जोडी नादिया किचेनोक स्लोभेनियाली खेलाडी तामारा जिडान्सेक र काजा जुभानसँग ४-६, ६-७ (५) ले पराजित भएका थिए ।
३५ वर्षीया मिर्जा डबल्समा विश्व नम्बर १ खेलाडी बनेकी छिन् भने सिंगल्समा २७ औं स्थानमा रहेकी छिन् । उनी हाल विश्वको ६८औं स्थानमा छिन् ।
सानिया मिर्जा ग्राण्डस्लाम जित्ने पहिलो भारतीय महिला खेलाडी हुन्। उनले सन् २०१६ मा अस्ट्रेलियन ओपनमा मार्टिना हिङ्गिससँग डबल्स खेल्दा अन्तिम ग्राण्डस्लाम जितेकी थिइन् ।




