काठमाडौं।टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको दोस्रो संस्करणको पुरुषतर्फको उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र हेल्प नेपालले प्रतिस्पर्धा गर्ने भएका छन् ।
शुक्रबार भएको फरक खेलमा विजयी हुँदै आर्मी र हेल्प नेपाल फाइनल प्रवेश गरेका हुन् ।
पहिलो खेलमा साबिक विजेता गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल पहिलो पटक फाइनल प्रवेश गर्यो ।
पहिलो पटक प्रतियोगितामा सहभागी भएको हेल्प नेपालले भारतीय ३ खेलाडीको साथमा २५–१८, २५–१६, २५–२३ ले सहज जित पायो ।
दोस्रो खेलमा आर्मीले अर्को विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्यो ।
राष्ट्रिय टोलीका खेलाडीले भरिएको आर्मीले पुलिसलाई २५–१५, २५–१८, २५–१३ ले पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा प्रवेश गर्यो । फाइनल खेल शनिबार २ बजे हुनेछ ।




