विश्व

बेलायतमा प्रत्येक १५ नागरिकमध्ये १ जना कोरोना संक्रमित

बेलायतमा गत हप्ता ४३ लाख मानिसलाई कोभिड–१९ भएको अनुमान गरिएको छ।

अघिल्लो हप्ताको कोरोना संक्रमितको संख्या ३७ लाखबाट बढेर गत हप्ता ४३ लाख कायम भएको बेलायती राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस)ले बुधबार जानकारी दिएको छ।

बेलायतमा कोरोना भाइरसको फैलावट उच्च रहेको जनाइएको छ। यहाँको तथ्यांकअनुसार जनवरी ६ सम्मको हप्तामा १५ जनामध्ये एकजना संक्रमित भएको जनाइएको छ।

वेल्समा गत हप्ता २० मध्ये एकजनामा अर्थात् गत हप्ता १ लाख ५७ हजार ९ सयजना यो रोगबाट संक्रमित भएको अनुमान छ। स्कटल्याण्डमा २० मा एक वा दुई‚ ९७ हजार ४ सयभन्दा बढी व्यक्ति संक्रमित भएका बताइएको छ।

उत्तरी आयरल्याण्डमा एक हप्तामा २ लाख ३८ हजार मानिस संक्रमित भएका अनुमान गरिएको छ। कोभिड १९ को संक्रमण बेलायतको पूर्वी भाग र लन्डन बाहेक बेलायतका सबै क्षेत्रमा बढ्दै गएको छ।

बेलायतले पछिल्लो २४ घण्टाको अवधिमा १ लाख २९ हजार ५८७ जनामा कोभिड–१९ संक्रमण भएको छ। हाल बेलायतमा कुल कोरोना संक्रमितको संख्या १ करोड ४८ लाख ६२ हजार १३८ जना पुगेको बुधबार सार्वजनिक भएको आधिकारिक तथ्यांकले जानकारी दिएको छ।

गत २४ घण्टामा बेलायतमा थप ३९८ जनाकाे कोरोना संक्रमणका कारण मृत्यु भएको छ। योसँगै कोरोनाका कारण मृत्यु भएको कुल मृतकको संख्या १ लाख ५१ हजारभन्दा बढी पुगेको ओएनएसले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *