काठमाडौँ । शिक्षा मन्त्रालयले २७ पुसदेखि १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
सोमबार शिक्षा मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो । आइतबार सीसीएमसीसीले वार्षिक बिदामा मिलान हुने गरी १५ माघसम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको थियो । सोहीअनुसार आज मन्त्रालयले निर्णय गरेको हो ।
मन्त्रालयले सोमबार विज्ञप्तिमार्फत सो अवधिमा विद्यार्थिको सिकाइमा सहजीकरण गर्न शैक्षिक संस्थालाई आग्रह गरेको छ । विद्यालयहरु बन्द भएपनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै पूर्वनिर्धारित सेमेष्टर र वार्षिक परीक्षा भने सञ्चालन हुने भएका छन् ।
‘विदाको अवधिमा विद्यालयहरूले सिकाइ सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्था बमोजिम विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरण गर्ने प्रबन्ध मिलाउनहन तथा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरूले पूर्व निर्धारित सेमेष्टर र वार्षिक परीक्षाका कार्यक्रमहरू जनस्वास्थ्य र सुरक्षाका मापदण्डहरू पूर्णरूपमा पालना हनेगरी जेड आकारमा बसाइ व्यवस्था गरी सञ्चालन गर्नेगरी प्रबन्ध गर्नसमेत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकासित गरिएको व्यहोरा अनुरोध छ,’ सूचनामा भनिएको छ।
बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षभन्दा माथिका सबै उमेर समूह र पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खोप उपलब्ध गराउन पनि मन्त्रालयले आग्रह गरेको छ ।





