समाचार

वायु सेवा निगमलाई सरकारले सहयोग गर्न सक्दैन, विकल्प खोजौँ : अर्थ सचिव मरासिनी

काठमाडौँ । अर्थ सचिव मधु मरासिनीले अहिलेकै व्यवस्थापनबाट नेपाल वायुसेवा निगम अगाडि बढ्न नसक्ने बताएका छन् ।

विकल्प नखोजे ४७ अर्बभन्दा बढी ऋणमा डुबेको र ब्याजसम्म तिर्न सक्ने अवस्थामा नरहेको निगम धराशयी हुने बाटोमा जाने भएकाले विकल्प खोज्नुपर्ने उनको भनाइ छ ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा अर्थ सचिव मरासिनीले अहिलेको व्यवस्थापनले निगमलाई अगाडि बढाउँछ भन्ने नलागेको भन्दै निगम कम्पनी मोडेल, पब्लिक प्राइभेट मोडल वा अर्को कुनै मोडलमा लगेर अहिलेको संरचनाबाट बाहिर ल्याउनुपर्ने बताए ।

उनले, सरकार निगममा थप लगानी गर्न सक्ने अवस्था नरहेको बताए ।

‘राष्ट्रिय ध्वजावाहकलाई सरकार आफैँले चलाइराखौँ, घाटा भए पनि भन्ने अवस्थामा हामी छैनौँ,’ उनले भने, ‘जनताले तिरेको करबाट आएको रकम त्यहाँ दिइराख्न सकिन्न ।’

निगमलाई सञ्चलन गर्न विकल्प आएमा सरकारले सघाउने तर अहिलेको अवस्थामा थप लगानी गर्न नसकिने सचिव मरासिनीले बताए ।

व्यापारिक योजना राख्ने र त्यसअनुसार नचल्ने संस्थालाई सहयोग गर्न नसकिने उनले बताए ।

निगममाथि कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायतको गरी ४७ अर्ब ऋण रहेको सचिव मरासिनीले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *