काठमाडौँ । भारतको निर्वाचन आयोगले ५ राज्यमा विधान सभाको निर्वाचनको मिति घोषणा गरेको छ ।आयोगले शनिबार पाँच राज्य उत्तर प्रदेश, उत्तराखण्ड, पञ्जाब, गोवा र मणिपुरमा ७ चरणमा चुनाव हुने घोषणा गरेको छ । यी राज्यमा पहिलो चरणको चुनाव फेब्रुअरी १० मा उत्तर प्रदेशबाट सुरु हुनेछ । सबै राज्य चुनावको नतिजा मार्च १० मा घोषणा हुने आयोगले जानकारी दिएको छ ।
निर्वाचन आयोगले कोरोनाबीच ५ प्रदेशको विधानसभा चुनावमा कडा प्रोटोकलको पालना गरिने जनाएको छ । जनवरी १५ सम्म सडक शो, र्याली, पदयात्रा, साइकल र स्कुटर र्याली गर्न पाइने छैन । भर्चुअल र्यालीबाट मात्रै निर्वाचन प्रचारप्रसार गर्न दिइनेछ । विजयी भएपछि विजयी जुलुस निकाल्न समेत रोक लगाएको छ ।
प्रमुख निर्वाचन आयुक्त सुशील चन्द्रले देशका ५ प्रदेशका ६९० वटा प्रदेशसभाको निर्वाचन हुने जानकारी दिए । यस निर्वाचनमा १८.३४ करोड मतदाताले चुनावमा भाग लिनेछन् । कोरोनाबीच निर्वाचन गर्न नयाँ प्रोटोकल लागू गरिने भएको छ । सबै निर्वाचन कर्मचारीहरूले कोरोना भ्याक्सिनको दुवै डोज प्राप्त गरेका छन्। आवश्यक पर्नेहरूलाई बुस्टर डोज समेत लगाइने आयोगले जनाएको छ ।
पाँच राज्यको विधानसभा चुनावको तालिका
पहिलो चरण: फेब्रुअरी १०
उत्तर प्रदेश
दोस्रो चरण: फेब्रुअरी १४
उत्तर प्रदेश, पञ्जाब, उत्तराखण्ड, गोवा
तेस्रो चरण: फेब्रुअरी २०
उत्तर प्रदेश
चौथो चरण: फेब्रुअरी २३
उत्तर प्रदेश
पाँचौं चरण: फेब्रुअरी २७
उत्तर प्रदेश, मणिपुर
छैटौं चरण: मार्च ३
उत्तर प्रदेश, मणिपुर
सातौं चरण: मार्च ७
उत्तर प्रदेश
परिणाम: मार्च १०




