काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले शुक्रबार टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको खेलको अवस्थामा परिवर्तन गरेको छ ।आईसीसीले शुक्रबार टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको खेलको अवस्था परिवर्तन गरेको हो ।
नियम अनुसार पुरुष र महिला टी-२० अन्तर्राष्ट्रिय खेलमा स्लो ओभर रेटको सजाय खेलमै लगाइनेछ । साथै, द्विपक्षीय टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको प्रत्येक इनिङ्सको बीचमा २.५ मिनेटको वैकल्पिक पेय ब्रेक लिइनेछ । तर यसका लागि टी–२० सिरिजअघि दुवै देशका बोर्डले यसबारेमा सम्झौता गर्नुपर्नेछ । ओभर रेट नियमहरू खेलको अवस्थाको खण्ड १३.८ मा सेट गरिएको छ, जसमा फिल्डिङ पक्षले निर्धारित वा पुन: निर्धारित समय भित्र इनिङको अन्तिम ओभरको पहिलो बल गर्न सक्ने स्थितिमा हुनुपर्छ ।
अब नयाँ नियमअनुसार ओभर रेटमा तोकिएको समयभन्दा पछाडि परेमा बाँकी ओभरमा ३० गजको दायराबाहिर एकजना कम खेलाडी खेल्न पाउनेछन् । यस्तो अवस्थामा अतिरिक्त फिल्डर ३० गजको दायराभित्र उभिनेछ । हाल, पावरप्ले पछि पाँच फिल्डरहरू ३० गज बाहिर रहन सक्छन् । तर ओभर रेटमा पेनाल्टी पाएपछि चार फिल्डर मात्र बाहिर रहन सक्नेछन् । परिवर्तनहरू आईसीसी क्रिकेट समितिले सिफारिस गरेको थियो, जसले नियमित रूपमा सबै ढाँचाहरूमा खेलका नियमहरू सुधार गर्ने तरिकाहरू छलफल गर्छ । यस्तै नियमहरू इसीबीद्वारा आयोजित द हन्ड्रेड प्रतियोगितामा पनि समावेश गरिएको थियो ।
यो नियम १६ जनवरीमा सबिना पार्कमा हुने वेस्ट इन्डिज र आयरल्याण्डबीचको एकमात्र टी–२० खेलबाट लागु हुनेछ ।
त्यस्तै दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच जनवरी १८ मा सेन्चुरियनमा हुने तीन खेलको टी–२० सिरिजको पहिलो टी–२० खेल नयाँ खेलको अवस्थामा खेलिने पहिलो महिला टी–२० खेल हुनेछ ।




