काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्व अध्यक्ष कमल थापाले पार्टी कदापी नफुटाउने प्रतिबद्धता जनाएका छन् ।
राजतन्त्र र हिन्दु राष्ट्रको एजेन्डा उठाउँदै आएका थापाले पूर्वराजा ज्ञानेन्द्र शाहका कारण आफू राप्रपाको अध्यक्षमा पराजित भएको आरोप लगाउँदै आएका छन् । त्यसैबिच पार्टी फुटाउने हुन् की भन्ने विभिन्न टिकाटिप्पणी भैरहेका बेला थापाले पार्टीमा विचार नमिले आफू अलग हुनसक्ने तर राप्रपालाई नफुटाउने बताएका हुन् ।
थापाले राजसंस्थाको एजेण्डा बोक्दा सिनो बोकेर हिंड्यो भनेर आफूलाई सत्तोसराप गर्नेहरु अहिले राजा राजनीति भन्दा माथी रहनुपर्छ भन्दा खेदो खनेकोमा हाँसो लागेकाेसमेत बताएका छन् । ‘राजसंस्थाको एजेण्डा बोक्दा प्रतिगामी,’सिनो’बोकेर हिंड्यो भनेर मलाई सत्तोसराप गर्नेहरु अहिले मैले राजा राजनीति भन्दा माथी रहनुपर्छ,पार्टीमा चलखेल गर्नुहुंदैन भन्दा मेरो खेदो खनि रहेकाछन्।हॅासो लाग्छ।’ उनले बिहीबार राति सामाजिक सञ्जालमा भनेका छन्, ‘स्पष्ट होस्-बिचार मिलेन भने पार्टीबाट म अलग हुनसक्छु तर राप्रपा कदापि फुटाउने छैन ।’




