राजनीति

अबका चुनावमा एमालेलाई एक सिट पनि जित्न दिँदैनौं : यादव

काठमाडौं ।नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री महेन्द्र यादवले अब हुने निर्वाचनमा एमालेलाई एक सिट पनि जित्न नदिने दाबी गरेका छन्। बुधबार रिपोर्टर्स क्लबमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले भने,‘अब हुने निर्वाचन हाम्रो पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा हुन्छ। हामी पाँच दलीय गठबन्धनलाई साथ लिएर आगामी निर्वाचनमा जान्छौं, र प्रतिगमनलाई पूरै परास्त गर्छौं। हामी एमालेलाई देशभरि एउटा पनि सिट जित्न दिँदैनौँ।’देउवाकै नेतृत्वमा चुनाव हुने र निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम रहने पनि यादवको भनाइ थियो।

कार्यक्रममा उनले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका सबै नेताहरूलाई मिलाएर लैजाने विश्वाससमेत व्यक्त गरेका छन्। उनले पार्टीभित्र गुटगत किचलो गर्न नहुने धारणा व्‍यक्त गरे।

उनले भने, ‘१४औं महाधिवेशनबाट निर्वाचित सभापति देउवाले दुईवटा केन्द्रीय कमिटीको बैठक राख्नुभयो, अहिलेसम्म १३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुभयो। कांग्रेसभित्र आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धा भएको छ। देउवा हामी सबैको साझा सभापति हो उहाँले कुनै पूर्वाग्रह राख्नुभएको छैन।’

उनले सभापति देउवाले गुटगत आधार नदेखाएको स्पष्ट पारे। शेखर कोइरालाले बोलाएको बैठकको आवश्यकता नभएको उनको टिप्पणी थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *