समाचार

पाकिस्तानका मोहम्मद हाफीजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए

काठमाडौँ । पाकिस्तानका अलराउन्डर तथा टोलीका पूर्व कप्तान मोहमद हाफीजले अन्तर्राष्ट्रिय क्रिकेटलाई अलविदा गरेका छन् ।

पाकिस्तानी टोलीका लागि ५५ टेस्ट, २१८ एकदिवसीय र ११९ टी-२० खेल खेलेका हाफीजले १८ वर्षअघि ३ अप्रिल २००३ मा शारजाहमा जिम्बाब्वेविरुद्ध आफ्नो करियर सुरु गरेका थिए ।

४१ बर्षिय हाफीजले ५५ टेस्टका १०५ इनिंगमा १० शतक र १२ अर्धशतकसहित ३६५२ रन बनाएका छन् भने २१८ एकदिवसीय खेलमा ११ शतक र ३८ अर्धशतकसहित ६६१४ रन बनाएका छन् ।

त्यस्तै उनले ११९ टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दै २५१४ रन बनाएका छन् । त्यस्तै उनले टेस्टमा ५३, एकदिवसीय खेलमा १३९ र टी-२० मा ६१ विकेट समेत लिएका छन् ।

पाकिस्तान क्रिकेट बोर्डले जारी गरेको विज्ञप्तिमा हाफीजले भनेका छन्, ‘म आज गर्व र सन्तुष्टिका साथ अन्तर्राष्ट्रिय क्रिकेटलाई अलविदा भन्दैछु । वास्तवमा मैले सोचेभन्दा धेरै उपलब्धि हासिल गरेको छु । मलाई मेरो करियरमा मद्दत गरेकोमा म मेरा साथी खेलाडी, कप्तान, सपोर्ट स्टाफ र पाकिस्तान क्रिकेट बोर्डलाई धन्यवाद दिन्छु ।’

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष रमीज राजाले हाफीजले क्रिकेटका विभिन्न ढाँचामा आफूलाई धेरै कुशलतापूर्वक ढालेको र टी-२० खेलको विशेषज्ञ पनि बनेको बताएका छन् ।

हाफीजले आफ्नो लामो करियरमा तीन ओडीआई विश्वकप (२००७, २०११ र २०१९) खेलेका छन् भने ६ वटा टी–२० विश्वकप समेत खेलेका छन् । उनले तीन पटक च्याम्पियन्स ट्रफी पनि खेलेका थिए ।

मोहम्मद हफीजले ३२ अन्तर्राष्ट्रिय खेलमा पाकिस्तानी टोलीको नेतृत्व समेत गरेका थिए । सन्यासको घोषणा गर्दै हाफीजले भने, ‘मैले १८ वर्षअघि पाकिस्तानी क्रिकेट टोलीसँग मेरो जीवनको सुन्दर यात्रा सुरु गरेको थिएँ, त्यहीँबाट आज सन्यास लिँदैछु । यो समयमा मैदानमा र बाहिर, मैले सधैं पाकिस्तानको झण्डा उठाउने प्रयास गरेको छु ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *