काठमाडौँ । अन्टार्कटिकाको बेल्जियमको वैज्ञानिक अनुसन्धान स्टेशनसम्म कोरोना पुगेको छ । बेल्जियमको अनुसन्धान स्टेशन एलिजाबेथ पोलर स्टेशनमा कार्यरत २५ मध्ये कम्तिमा १६ जनालाई कोरोना संक्रमण भएको बिबिसीले उल्लेख गरेको छ ।
विश्वको दुर्गम क्षेत्रहरू मध्ये एक रहेको यस क्षेत्रमा कार्यरत सबै कामदारले पूर्ण रूपमा खोप लगाएको बताइएको छ । अहिलेसम्म सबैका लक्षण सामान्य रहेको बताइएको छ ।
अन्तर्राष्ट्रिय ध्रुवीय फाउन्डेसनका परियोजना प्रबन्धक जोसेफ चिकले भाइरस लागेका कर्मचारीहरूलाई क्वारेन्टाइनमा राख्नु असुविधा भएको भए तापनि यसले समग्रमा स्टेसनको काममा खासै असर नगरेको बताएका छन् ।
उनले भनेका छन्- ‘स्टेसनका सबैलाई जनवरी १२ मा निर्धारित उडानमा छोड्ने अवसर दिइएको थियो । यद्यपि, तिनीहरू सबैले बस्ने र आफ्नो काम जारी राख्ने इच्छा व्यक्त गरेका छन् ।’
स्टेशनमा आइपुगेका कर्मचारीहरूले भाइरसको लागि खोप र परीक्षण अनिवार्य गर्नुपर्ने नियम रहेको छ । त्यहाँ स्टेशनमा दुई आपतकालीन डाक्टरहरू छन् र आउटपोस्टमा अहिले नयाँ आगमनमा रोक लगाइएको छ । बेल्जियमले यो एलिजाबेथ स्टेशन अन्तर्राष्ट्रिय ध्रुवीय फाउन्डेसनद्वारा २००९ देखि संचालन गरिरहेको छ । अन्टार्कटिकाका अनुसन्धान स्टेशनहरू कोरोना भाइरसको प्रकोपबाट प्रभावित भएको यो पहिलो पटक होइन । गत वर्ष, बर्नार्डो ओ’हिगिन्स रिसर्च स्टेशनमा चिलीका सैन्य कर्मचारीहरू पनि संक्रमित भएका थिए ।




