विश्व

अमेरिका-रुस वार्ताको राष्ट्रसंघले गर्‍यो स्वागत

संयुक्त राष्ट्रसंघले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच सुरक्षा र रणनीतिक मामिलामा भएको वार्ताको स्वागत गरेको संयुक्त राष्ट्रसंघका प्रवक्ता फ्लोरेन्सिया सोतो निनोले स्पुतनिकलाई बताएकी छन्।

बिहीबार दुई राष्ट्रपतिले युक्रेनमा बढ्दो तनावसम्बन्धमा आगामी वार्ताबारे छलफल गर्न टेलिफोन कुराकानी गरेका थिए।

‘हामी सधैं सदस्य राष्ट्रबीचको संवादलाई स्वागत गर्दछौं,’ फोन कुराकानीबारे सोध्दा निनोले उक्त टिप्पणी गरेकी हुन्।

युक्रेनी सीमामा रुसी सेना परिचालन र आक्रमणको तयारीको दाबीबीच केही सातायता रुस र युक्रेनबीच तनाव बढेको छ।

रुसले भने बारम्बार सो आरोप अस्वीकार गर्दै आएको छ। रुसले आफ्नो विवेकमा आफ्नो भूभागभित्र सेना स्थानान्तरण गर्ने अधिकार भएको दाबी गरेको छ र रुसी सिमानानजिक नाटोको सैन्य गतिविधिले यसको सुरक्षालाई खतरामा पारेको आरोप पनि लगाएको छ।

डिसेम्बर १७ मा रूसले नाटो र संयुक्त राज्य अमेरिकालाई सुरक्षा ग्यारेन्टीको प्रस्तावहरू पठाएको छ।

मस्को र वाशिङ्गटनबीच सुरक्षा ग्यारेन्टीका विषयमा जनवरी १० मा वार्ता तय गरिएको छ।

त्यसैगरी जनवरी १२ मा यसबारे छलफल गर्न रूस-नाटो काउन्सिल बैठक र अर्को दिन रुस र युरोपमा सुरक्षा र सहयोग संगठनको शिखर सम्मेलन आयोजना गर्ने तयारी गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *