काठमाडौं ।काठमाडौँमा जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई दक्षिण अफ्रिकी राष्ट्र मोरिसससँग मैत्रीपूर्ण खेलमा मौका दिइने भएको छ । नेपालले आगामी जनवरी २९ र फेब्रुअरी १ मा मोरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्दै छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेलमा ‘ए’ डिभिजन लिगमा उत्कृष्ट गर्ने खेलाडीलाई मौका दिइने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । मैत्रीपूर्ण खेलमा लागि लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई छनोटगरी नेपाली टोली तयार पारिने एन्फाले जनाएको छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाली टोली सम्हाल्न मङ्गलबारमात्र नेपाल आइपुगेका छन् । अल्मुताइरीले लिगमा खेलाडीको खेल हेरेर टोली तयार पार्नेछन् ।
लिगमा सातौँ चरणमा खेल सुक्रबारदेखि सुरु हुनेछ । लिगमा छैटौँ चरणको खेल समाप्तिसँगै उपाधि होड र रेलिगेसनको दबाब थप रोचक बन्दै गएको छ । साविक विजेता मच्छिन्द्र क्लब १४ अङ्कसहित शीर्षस्थानमा छ भने दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबसँग १३ अङ्क छ । तेस्रो स्थानमा रहेको सङ्कटासँग १२ र चौथो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबसँग १० अङ्क छ ।
च्यासल र फ्रेन्ड्स रेलिगेसनको दबाबमा छन् । चार अङ्क बनाएको च्यासल १३औँ र तीन अङ्क बनाएको फ्रेन्ड्स १४औँ तथा अन्तिममा छ । ६ अङ्कसहित १०औँ स्थानमा रहेको नेपाल पुलिस, पाँच अङ्क बनाएको एपिएफ र ब्रिगेड ब्वाइज क्रमशः ११औँ र १२औँ स्थानमा छ । पुलिस, एपिएफ र ब्रिगेडलाई पनि रेलिगेसरको डर छ । १४ टोली सहभागी लिगमा अन्तिममा रहने दुई टोली ‘बी’ डिभिजनमा घटुवा (रेलिगेसन) हुनेछन् ।
मोरिसस नेपालका लागि आधिकारिक पहिलो अफ्रिकन प्रतिद्वन्द्वी
नेपाल र मौरिससबीचको दुवै खेललाई विश्व फुटबल महासङ्घ (फिफा) ले अन्तर्राष्ट्रिय म्याच क्यालेन्डरमा समावेश गर्नेसमेत एन्फाले जनाएको छ । मोरिसस फिफा वरीयतामा नेपालभन्दा तीन स्थान तल छ । नेपाल एक सय ६९औँ स्थानमा रहँदा मोरिसस एक सय ७२औँ स्थानमा छ । मोरिसस नेपालका लागि आधिकारिक पहिलो अफ्रिकन प्रतिद्वन्द्वी हो । नेपालले आफ्नो फुटबल इतिहासमा पहिलो पटक औपचारिक मान्यताप्राप्त आधिकारिक खेलमा कुनै अफ्रिकी देशको सामना गर्न लागेको हो । यसअघि नेपालले अफ्रिकी राष्ट्रसँग फुटबल खेलेको थिएन ।
यसअघि नेपालले दुई पटक अफ्रिदी देशसँग खेलेको भएपनि ती दुवै खेल औपचारिक मान्यताप्राप्त भने थिएनन् । सन् १९८३ मा नेपालले मलेसियामा भएको मर्डेका कप खेलेको थियो, जसमा उसले अल्जेरिया ११ सँग खेलेको थियो । सो खेलमा नेपाल २–० गोलले पराजित भएको थियो ।
यस्तै, सन् २००८ को मर्डेका कपमै नेपालले सिरालियोन यु–२० सँग खेलेको थियो । जसमा नेपाल ३–१ ले पराजित भएको थियो । मोरिससले एक पटक अफ्रिका कप अफ नेसन्समा सहभागिता जनाइसकेको छ । सन् १९७४ मा उक्त प्रतियोगिता खेलेको मारिससका लागि यो नै ठुलो उपलब्धि हो ।
नेपाली टिमले पछिल्लो पटक भारतविरुद्ध मैत्रीपूर्ण खेल खेलेयता अन्य खेल खेल्न पाएको छैन । गत सेप्टेम्बर २ मा नेपालले भारतसँग बराबरी खेलेको थियो । ५ सेप्टेम्बरमा भएको भारतविरुद्धको दोस्रो खेलमा हार बेहोरेको थियो ।
त्यसअघि नेपाली टिमले साफ च्याम्पियनसिपको फाइनल खेल खेलेको थियो । अक्टोबर १६ मा भारतसँगको उक्त खेलमा नेपाल ३–० गोलले पराजित भएको थियो । नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको थियो ।




