काठमाडौं । साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले सहज जित हात पारेको छ । बंगलादेशको ढाकामा शुक्रबार भएको खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।
नेपालको सहज जितमा मेनुका आले मगरले दुई गानेल गरिन् भने कुशुम खतिवडा र रजनी थोकरले समान एकएक गोल गरे । जितसँगै नेपालले फाइनल प्रवेशको सम्भावना कायमै राखेको छ ।
नेपाल ४ खेलबाट ७ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ । बंगलादेशको पनि समान ७ अंक नै रहेपनि गोल अन्तरका आधारमा शीर्षस्थानमा छ । पराजित भुटान भने उपाधि होडबाट बाहिरिएको छ ।
पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग गोलरहित बराबरी रोकिएको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६-० ले पराजित गरेको थियो ।
अन्तिम खेलमा नेपालले आइतबार तेस्रो स्थानमा रहेको भारतसँग खेल्नेछ । ५ टोली सहभागी प्रतियोगिताको शीर्ष २ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।




