काठमाडौं ।सरकारले राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रकविको सम्मानस्वरूप हुलाक टिकट प्रकाशन गरिएको हो।
कार्यक्रममा बोल्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वर्गारोहणपछि पनि राष्ट्रकवि घिमिरे सबैका प्रेरणा स्रोत रहेको बताए। उनले धर्ती रहुन्जेल नेपाल र नेपाली रहने र नेपाली रहुन्जेल राष्ट्रकविको संस्मरण भइरहने उल्लेख गरे।
मन्त्री कार्कीले राष्ट्रकवि घिमिरेको योगदानलाई ताजा गराउन हुलाक टिकट प्रकाशन गरिएको र यो नेपालीहरूका लागि गौरवको विषय भएको चर्चा गरे।

मन्त्री कार्कीले भने, ‘उहाँको स्वर्गारोहणपछि पनि उहाँ हामी सबैको प्रेरणाको स्रोत हुनुहुन्छ। यो सदा उच्च सम्मानका साथ नेपालीले यसलाई आत्मसात गर्नेछन्। यो धर्ती रहुन्जेल नेपाल रहन्छ, नेपाल रहुन्जेल नेपालीहरु रहन्छन् र नेपालीहरु रहुन्जेल राष्ट्रकवि माधवप्रसाद घिमिरे पुस्तौँसम्म उहाँको संस्मरण रहिरहनेछ। त्यसलाई अझ ताजा स्मरण गराउन हामीले हुलाक टिकट प्रकाशन गरेका छौँ। यो सबैका निमित्त सन्तोष र गौरवको विषय हो।’
कार्यक्रममा राष्ट्रकवि घिमिरेकी छोरी डा.किरण रेग्मीले मृत्युपछि पाएको हुलाक टिकटको सम्मान हरेक नागरिकका घरमा पुग्ने बताइन्। उनले मानिसहरुले देहावसानपछि बिस्तारै बिर्सिंदै गए पनि उनका गीत र कविताले कहिल्यै बिर्सिन नसकिने बताइन्।
डा. रेग्मीले ‘गाउँछ गीत नेपाली’ भन्ने गीत राष्ट्रगानबाट हटाएकोप्रति चिन्ता व्यक्त गरिन्। उक्त गीतमा नेपाल र नेपालीका बारेमा सबै यथार्थ चित्रण गरिएकाले नेपालको बारेमा धेरै कुरा जानकारी मिल्ने समेत उनले बताइन्।
डा. रेग्मीले पिताका कविता र गीतहरूले राष्ट्रको परिचय दिने र कालजयी रहने बताए।




