काठमाडौं । पहिलो मिनेटमा लिएको अग्रता जोगाउन नसकेको हिमालयन शेर्पा क्लब शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोली नेपाल पुलिस क्लबसँग १-१ को बराबरीमा रोकिएको छ ।
त्रिपुरेश्वस्थित दशरथ रंगशालामा बुधबार भएको खेलको ५३औं सेकेण्ड विश्वास श्रेष्ठले गरेको गोलसँगै शेर्पाले अग्रता लिएको थियो । खेल सुरु भएको एक मिनेट नबित्दै पेनाल्टी एरिया बाहिरबाट शेर्पाका कप्तान विश्वासले गरेको औसत प्रहार पुलिसका गोलकिपर सत्रुघन चौधरीले सम्हाल्न नसक्दा पुलिस पछि परेको थियो ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा बल पोसेसन होल्ड गर्ने रणनीति बनाएको शेर्पाले विभागीय महारथीलाई मध्यान्तरसम्म गोल गर्नबाट रोकेको थियो । यद्यपि, दोस्रो हाफको सुरुआतदेखि नै निन्तर शेर्पामाथि दबाब बनाएको पुलिसका लागि सुमन लामाले ६०औं मिनेटमा बराबरी गोल फर्काए ।
मिडफिल्डर तेज तामाङले सेन्टर सर्कल भित्रबाट दिएको ‘थ्रु बल’मा विङ्गर रवि पासवानले उत्कृष्ट रन बनाएर पेनाल्टी एरियामा क्रस गरेका थिए । रविको सुन्दर क्रसलाई ‘अनमाक्र्ड’ रहेका पुलिसका फरवार्ड सुमन लामाले ६ यार्ड बक्सको लाइनबाट एक्रोब्याटिक प्रहार गर्दै सुन्दर गोल गरेका थिए ।
त्यसबाहेक विभागीय टोलीले गोलका केही अवसर सिर्जना गरे पनि सफल गोलमा कन्भर्ट हुन सकेनन् । पुलिसका सेन्टर ब्याक अञ्जन राईको प्रहार शेर्पाको क्रसबारमाथिबाट बाहिरिएको थियो ।
यस्तै, ६५औं मिनेटमा पुनः अञ्जनले गरेको प्रहारमा शेर्पाका गोलकिपर किशोर गिरी बाधक बनेका थिए ।
विभागीय टोलीविरुद्ध पाएका मौका सदुपयोग गर्न लगातार कोसिस गरेको शेपाले पुलिसको रक्षापंक्ति छिचोल्न सकेन । निर्धारित ९० मिनेटको खेल सकिन ७ मिनेट बाँकी रहँदा शेर्पाका कप्तान विश्वासले दायाँ तर्फबाट प्रहार गरेको फ्रि–किक सोझै पुलिसका गोलकिपर चौधरीको हातमा पुगेको थियो ।
बराबरीसँगै सुरूआती तीन खेलबाट ५ अंक जोडेको पुलिस लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ । पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग १-१ गोलको बराबरीमा रोकिएको पुलिसले दोस्रो खेलमा जावलाखेल युथ क्लबलाई १-० को नतिजामा पराजित गरेको थियो ।
यस्तै, समान खेलबाट २ अंक जोडेको शेर्पा लिग तालिकाको १२औं स्थानमा छ । पहिलो खेलमा संकटा क्लबसँग १-१ गोलको बराबरी खेलेको शेर्पा दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबसँग १-० को नतिजामा पराजित भएको थियो ।
सुरुआती तीन खेलबाट ७/७ अंक जोडेका सातदोबाटो युथ क्लब र मनाङ क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।
बुधबार नै हुने तेस्रो चरणको अन्तिम खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लब भिड्दैछन् ।




