संयुक्त राष्टसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस सेल्फ आइसोलेसनमा बसेका छन् । कोभिड–१९ देखिएका एक व्यक्तिसँगको सम्पर्कपछि उनी सेल्फ–आइसोलेसनमा रहेको उनका उपप्रवक्ता फरहान हकले बताएकाछन् ।
उनमा कुनै लक्षण नदेखिएको र सुरुको परिक्षणमा नेगेटिभ भएतापनि धेरै सावधानी अपनाउन उनले आफ्ना सबै संलग्नता रद्द गरेका छन् ।
बिहीबार डिसेम्बर ९ मा उहाँको पुनः कोरोना परीक्षण नभएसम्म उनले घरबाट काम गर्नुहुने हकले मंगलबार संयुक्त राष्ट्रसंघको प्रेस सम्मेलनमा बताएका छन् । महासचिवको मूलतः बुधबार संयुक्त राष्ट्रसंघीय आपतकालीन प्रतिक्रिया कोषको उच्चस्तरीय कार्यक्रममा भाग लिने कार्यक्रम रहेको थियो । आतङ्कवाद र जलवायु परिवर्तनको सन्दर्भमा सुरक्षा परिषद्को बिहीबारको खुला बहसमा बोल्ने अपेक्षा गरिएको थियो ।
बुधवार राति डाउनटाउन म्यानहट्टनमा संयुक्त राष्ट्रसंघ संवाददाता संघको वार्षिक उत्सवमा सम्मानित अतिथिको रुपमा उनको निर्धारित उपस्थिति पनि प्रभावित भएको छ । ७२ वर्षीय गुटेर्रेस जनवरी २०२१ को अन्त्यमा पहिलो खोप र पछि दोस्रो खोप लगाउने पहिलो न्यूयोर्कका बासिन्दाहरू मध्ये थिए । उनले गत नोभेम्बर २६ मा एक बूस्टर डोज लिएका छन् ।




