खेलकुद

लुम्बिनीलाई यु-१९ राष्ट्रिय प्रतियोगिताको उपाधि

काठमाडौँ । सुदूरपश्चिम प्रदेशलाई ११३ रनले पराजित गर्दै लुम्बिनी प्रदेशले अन्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा लुम्बिनी प्रदेशले दिएको २१३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ९९ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो। सुदूरपश्चिमको लागि लोकेश बमले सर्वाधिक २५, खडक बोहराले २१, शेर मल्लले १५ तथा नारायण जोशीले ११ रन बनाए।

लुम्बिनी प्रदेशको बलिंगमा देब्रे हाते स्पिनर अजय चौहानले ५ विकेट लिए जुन क्रममा ५.२ ओभरमा २० रन खर्चिए। दुर्गेश गुप्ताले ३ विकेट ( ९-३-१९-३ ) तथा मोहम्मद हुसेनले २ विकेट ( ८-१-३३-२ ) लिए।

यस अघि टस हारेर ब्याटिंगको निम्तो पाएको लुम्बिनी प्रदेशले निर्धारित ५० ओभरमा सम्पूर्ण विकेट गुमाएर २१२ रन बनाएको थियो।

लुम्बिनीको ब्याटिंगतर्फ कप्तान देव खनालले ९५ बलमा ५ चौका र ४ छक्काको मद्धतमा सर्वाधिक ७० रन बनाए । यस्तै, बिशाल बिक्रम केशीले ५१, दुर्गेश गुप्ताले ३२ तथा प्रज्ज्वल थापाले २४ रनको योगदान दिए ।

पहिलो ओभरमै आकाश त्रिपाठी खाता नखोल्दै आउट भएपछि कप्तान देव खनाल र प्रज्ज्वल थापाले दोस्रो विकेटका लागि ७९ रनको साझेदारी गरे । आकाश चन्दले प्रज्ज्वल र देवलाई आउट पारेपछि विशाल बिक्रम केशीले दबाबपूर्ण अवस्थामा अर्धशतक बनाउँदै लुम्बिलाई चुनौतिपूर्ण योगफलतर्फ डोर्याए । अन्तिममा दुर्गेश गुप्ताले ३२ रनको पारि खेल्दै लुम्बिनीको योगफल २०० रन पार गराएका थिए ।

सुदूरपश्चिमको बलिंगतर्फ आकाश चन्दले ( १०-०-४७-३) सर्वाधिक ३ तथा शेर मल्ल ( १०-१-१७-२ ) र हेमन्त धामीले ( १०-२-३७-२) समान २ विकेट लिए । यस्तै, नरेन साउद र राहुल भण्डारीको नाममा समान १ विकेट रह्यो ।

लुम्बिनी लिग चरणमा अंकतालिकाको शिर्ष स्थानमा रहँदै फाइनल पुगेको थियो भने सुदूरपश्चिम उपविजेताको रुपमा फाइनल पुगेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *