विश्व

नयाँ भेरिएन्ट ओमिक्रोन देखिएपछि अमेरिकामा यात्राका नियममा कडाई

वासिङ्टन । अमेरिकामा ओमिक्रोन भेरियन्टका आठ सङक्रमित देखिएपछि राष्ट्रपति जो बाइडेनले यात्रासम्बन्धी कडा नियमहरूको घोषणा गरेका छन् । तर बाइडेनले आफ्नो योजनामा लकडाउन भने नपर्ने र खोपसम्बन्धी यसअघिको निर्णयमा पनि परिवर्तन नहुने बताएका छन् ।

न्यूयोर्क राज्यमा पाँच जनामा तथा मिनेसोटा र कोलोराडोमा अहिलेसम्म ओमिक्रोनको सङ्क्रमण एकएक जनामा देखिएको छ । अमेरिकामा बुधवार क्यालिफोर्निया राज्यमा पहिलो ओमिक्रोन सङक्रमण देखिएको थियो ।

स्वास्थ्य अधिकारीहरूले ओमिक्रोन भेरियन्ट देखिएका मानिसमा अहिलेसम्म सामान्य खालका लक्षणहरू देखिएको बताएका छन् । उक्त भेरियन्ट अहिलेसम्म कम्तीमा २३ वटा देशमा देखिइसकेको छ।बिहीवार सार्वजनिक गरिएको विवरणअनुसार अब सबै अन्तर्राष्ट्रिय यात्रुले अमेरिका जानुभन्दा २४ घन्टाअघि अनिवार्य रूपमा कोभिडको परीक्षण गरेको हुनुपर्छ । यो नियम पूर्ण मात्रा खोप लगाइसकेका मानिसको हकमा पनि लागु हुन्छ।

अमेरिकासहित थुप्रै अन्य देशहरूले आठवटा दक्षिण अफ्रिकी देशहरूमाथि यात्रा प्रतिबन्ध लगाएका छन् । ओमिक्रोन भेरियन्ट देखिएसँगै कोरोनाभाइरस फैलिन नदिनका लागि जो बाइडेन नयाँ नियमहरूसहित अमेरिकी जनतासमक्ष देखिनु भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *