खेलकुद

सहज जितसँगै रियल शीर्ष स्थानमा

काठमाडौं । १० खेलाडीमा समेटिएको ग्रानडालाई पराजित गर्दै रियल म्यड्रिड स्पेनिस ला लिगामा शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा रियलले ग्रानडालाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

रियलको सहज जितमा मार्को एसेन्सियो, नाँचो फर्नान्डेस, भिनिसियस जुनियर र फर्लान्ड मेन्डीले १/१ गोल गरे । घरेलु टोली ग्रानडाका लागि लुइस जाभियर सुआरेजले एक गोल फर्काए ।

खेल सुरु हुन अघि नै ग्रानडाका प्रशिक्षक रोबर्ट मोरेनोले बेन्चमा रातो कार्ड पाउँदै दर्शक दीर्घामा पुगेका थिए । खेलको ६७ मिनेटमा मिडफिल्डर मोन्चुले सिधै रातो कार्ड पाउँदा ग्रानडा १० खेलाडीमा सिमित भयो ।

जितसँगै रियलले रियल सोसाईडाडलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ । १३ औं चरणका खेल सकिँदा ३० अंक बनाएर मड्रिड तालिकामा पहिलो स्थानमा छ ।

सोसिडाड २९ अंकसहित दोस्रो स्थानमा रहँदा सेभिल्ला २८ अंकसहित तेस्रो स्थानमा रहँदा २६ अंक बनाएको एथ्लेटिको मड्रिड चौथो स्थानमा छ ।

रियलसँग पराजित भएको ग्रानडा भने रेलिगेशन जोन नजिक छ । ११ अंक बनाएको ग्रानडा १७औँ स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *