समाचार

प्रधानन्यायाधीशलाई अदालतको गरिमा रक्षा गर्न पत्रकार महासंघको आग्रह

काठमाडौं । नेपाल पत्रकार महासंघले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई अदालतको गरिमा रक्षा गर्न आग्रह गरेको छ । बुधबार महासंघले विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराको नाम उल्लेख नगरी जिम्मेवार बन्न न्यायालय नेतृत्वलाई आग्रह गरेको हो ।

‘महासंघ नेपाल बार एशोसिएसनले उठाएका सवालहरू र नागरिक तहबाट उठेका प्रश्नहरूलाई गम्भीर रूपमा लिँदै उच्च नैतिकता प्रदर्शन गर्न र गतिरोध अन्त्य गरी अदालतको गरिमाको रक्षा गर्न न्यायालय नेतृत्वलाई हार्दिक आग्रह गर्दछ’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मुलुकको संवैधानिक निकाय सर्वोच्च न्यायालयमा लामो समयदेखि गम्भीर समस्या उत्पन्न हुँदा जननिर्वाचित संसद्, सरकार र राजनीतिक दलले देखाएको आश्चार्यजनक मौनताप्रति पनि महासंघले चासो प्रकट गरेको छ । महासंघले संसद्, सरकार र राजनीतिक दललाई सर्वोच्चमा देखिएको समस्या समाधानका लागि आवश्यक पहल र अग्रसरताको लागि अपिलसमेत गरेको छ ।

सर्वोच्च अदालतको नेतृत्वप्रति गैरन्यायिक आचरणको प्रश्न उठाउँदै नेपाल बार एशोसिएसनले आन्दोलन गर्नुपर्ने अवस्था सृजना हुनु दुःखद् विषय भएको भन्दै महासंघले आन्दोलनरत पक्षलाई पनि अदालतको गरिमा र मर्यादाको ख्याल पु¥याउन आग्रह गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *