खेलकुद

ए डिभिजन लिगको तालिका हेरफेर, प्रत्येक दिन ‘फ्लड लाइट’मा खेल हुने

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ३ मसिंरबाट सुरु हुने ‘ए’ डिभिजन लिगको तालिका हेरफेर गरेको छ ।

मंगलबार एन्फाले शीर्ष डिभिजनको लिग सुरु नहुँदै तालिका हेरफेर गरेको हो । यसअघि लिग २७ कात्तिकमा सुरु हुने तय भए पनि सारिएर ३ गतेलाई पुर्‍याएको थियो । जहाँ दुई चरणका खेल पूर्ण रुपमा सार्वजनिक भएको थियो । दुई चरणको खेललाई मात्रै एन्फाले हेरफेर गरेको छ ।

लिग सुरु नहुँदै हेरफेर भएको तालिकामा भने हप्तामा ४ दिन खेल राखिएको छ । उद्घाटनको दिन एकमात्रै खेल हुने छ । जसमा फ्रेण्ड्स क्लब र सातदोबाटो युथ क्लब भिड्नेछन् । यसपछि भने एन्फाले प्रत्येक दिन २ खेल तोकेको छ ।

एन्फाले हप्तामा ४ दिन खेल हुने तालिका सार्वजनिक गरेको हो । शुक्रबार, शनिबार, आइतबार र सोमबारमात्रै लिगको खेल हुने गरि तालिका सार्वजनिक गरिएको छ ।

नयाँ तालिकाअनुसार प्रत्येक दिन पहिलो खेल १ बजे हुने छ भने दोस्रो खेल पौने ५ बजे सुरु हुने छ ।

यस्तै एन्फाले निकालेको दुवै चरणको खेल दशरथ रंगशालामा हुने छ । यसअघि एन्फाले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने जनाएको थियो ।

यस सिजनको लिगको लागि एन्फाले सामान्यतर्फ १ सय र भिआइपीतर्फ ५ सयको टिकट मूल्य तोकेको थियो । दुई टोली रेलिगेसन पर्ने लिगको विजेताले ७५ लाख पाउँदा उपविजेताले ५० लाख पाउने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *