काठमाडौं । प्रदेश १ का सत्तारूढ गठबन्धनका पाँच दलका सांसदहरूको विराटनगरमा संयुक्त छलफलमा जुटेका छन् । पाँच दलीय गठबन्धन सरकारमा समाजवादीका अलावा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सहभागी छन् ।
विराटनगरस्थित विग होटलमा पाँच दलले आफ्ना सबै सांसद भेला गरेर भोलि प्रदेशसभामा हुने विश्वासको मत दिने कार्यक्रममा अनिवार्य उपस्थित हुन निर्देशन दिने तयारी छ ।
आज सम्पन्न कांग्रेस संसदीय दलको बैठकले विश्वासको मतको पक्षमा मतदान गर्न सांसदहरूलाई निर्देशन दिइसकेको छ । मुख्यमन्त्री राजेन्द्र राईले भोलि प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।
तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा कात्तिक १६ मा नयाँ प्रदेश सरकार बनेको थियो ।
प्रदेशको पाँच दलीय सत्ता गठबन्धनमा ५० सांसद छन्। ९३ सदस्य रहेको प्रदेश सभामा हाल कायम संख्या ९२ रहेको छ । गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद छन् ।
मुख्य विपक्षी एमालेसँग ४१ सांसद छन् । एक जना सभामुख र एक जना फरार सांसद घटाउँदा उसको मत संख्या ३९ मात्रै हुन्छ । सत्ता गठबन्धनले सजिलै विश्वासको मत पाउने देखिएको छ ।




