खेलकुद

विश्वकपको सेमिफाइनलमा आज भिड्दै इङल्याण्ड र न्यूजिल्याण्ड, को पुग्ला फाइनलमा ?

काठमाडौँ । आइसीसी टी-२० विश्वकप अन्तर्गत आज पहिलो सेमिफाइनल खेल इङल्याण्ड र न्यूजील्याण्डबीच हुदै छ । खेल आबुधाबीस्थित शेख जायेद स्टेडियममा नेपाली समय अनुसार साँझ ७:४५ बजे हुदै छ ।

सुपर १२ को समुह १ बाट इङल्याण्ड समुहमा पहिलो हुदै सेमिफाइनलको यात्रा तय गरेको छ भने न्यूजील्याण्डले समुह २ बाट दोस्रो हुदै सेमिफाइनलमा पुगेको छ ।

आइसीसीको टी-२० वरियतामा हाल इङल्याण्ड शिर्ष स्थानमा रहेको छ भने न्यूजील्याण्ड चौथो स्थानमा रहेको छ ।

यस विश्वकपमा दुवैले खेलेका ५-५ खेलमा ४-४ खेल जितेर सेमिफाइनल खेल्दै छन् ।

टिमको प्रदर्शन हेर्दा इङल्याण्ड समग्रमा ब्यालेन्स टिम देखिए पनि अहिलेको न्यूजील्याण्डको टिमले कुनै पनि टिमला कडा टक्कर दिने क्षमता राख्छ । सुपर १२ का खेलमा इङल्याण्डले अस्ट्रेलिया जस्तो बलियो मानिएको टिमलाई पराजित गरेको थियो भने न्यूजील्याण्डले भारत जस्तो विश्वकपको दाबेदार मानिएको टिमलाई पराजित गरेको थियो ।

इङल्याण्डलाई आफ्ना ओपनर जासन रोय घाइते भएर विश्वकपबाट बाहिरिएपछि ठुलो झट्का लागेको छ । इङल्याण्डका जस बटलर, आन्द्रे राशिद, मोइन अली, कप्तान इओन मोर्गन जस्ता खेलाडीको प्रदर्शन सेमिफाइनलमा महत्वपूर्ण हुने देखिन्छ । बटलरले यस विश्वकपमा एक शतक र एक अर्धशतकसहित २४० रन बनाएका छन् । त्यस्तै राशिदले५ खेलमा ८ विकेट लिएका छन् ।

त्यसै गरी न्यूजील्याण्डका लागि मार्टिन गप्टिल, कप्तान केन विलियम्सन, ट्रेन्ट बोल्ट, इश सोढ़ीको खेल महत्वपूर्ण हुने छ । न्यूजील्याण्डका लागि यस विश्वकपमा गप्टिलले सर्बाधिक १७६ रन बनाएका छन् । त्यस्तै कप्तान विलियम्सनले १२६ र डार्यल मिचेलले १२५ रन बनाएका छन् । त्यस्तै ट्रेन्ट बोल्टले सर्बाधिक ११ विकेट लिएका छन् भने सोढ़ीले ८ विकेट लिएका छन् ।

इङल्याण्डले यसअघि २०१० मा टी-२० विश्वकपको उपाधि जितेको थियो भने २०१६ मा वेस्टइन्डिजसँग फाइनलमा पराजित भएको थियो । त्यस्तै न्यूजील्याण्ड भने यस अघि २००७ र २०१६ मा सेमिफाइनलमा पुगेको थियो भने अहिलेसम्म टी-२० विश्वकपको फाइनलमा पुग्न सकेको छैन ।

यसरी समग्रमा हेर्दा दुवै टिमबीच यो सेमिफाइनल निकै प्रतिष्पर्धात्मक हुने छ । इङल्याण्डको आक्रामक ब्याटिंग र अनुशासित बलिङ तथा प्रतियोगितामा न्यूजील्याण्डले देखाएको उत्कृष्ट फिल्डिङ यस खेलमा हेर्न लायक हुने छ । दुवै टिमका कप्तान इओन मोर्गन र केन विलियम्सनको शान्त स्वभाव र कुटिल रणनीति बनाउने शैली पनि यस खेलका हाइलाइटस् हुने छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *