गण्डकी । पोखरास्थित फेवा टेलिभिजनद्वारा सञ्चालित फेवा चौतारी सांस्कृतिक टिमले आज आयोजना गरेको देउँसीभैलो कार्यक्रममा गण्डकी प्रदेशका तीन मन्त्री छम्छम्ती नाचेका छन् ।
अर्थमन्त्री रामजी बरालको निवासमा आयोजित कार्यक्रममा मन्त्री बरालसँगै भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढा र वन, वातावरण तथा भूसंरक्षणमन्त्री दीपक थापाले एउटै मञ्चमा देउसी भैलो कार्यक्रममा नृत्य प्रदर्शन गरेका हुन् ।
नेपालको मौलिक कला संस्कृतिको जर्गेना गर्ने उद्देश्यले आयोजना भएको उक्त कार्यक्रममा उनिहरुले नेपालको मौलिक कला संस्कृतिको संरक्षणमा दिगो रुपमा लाग्न सुझाव दिएका छन् । पछिल्लो समयमा पश्चिमा संस्कृतिले नेपालमा प्रशय पाइरहेको अवस्थामा नेपाली लोक भाकासहितको कला संस्कृतिलाई संरक्षण गर्न आवश्यक भएको अर्थमन्त्री बरालले बताए ।
यसैबीच अर्थमन्त्री निवासमा राष्ट्रिय जनमोर्चाको रक्तिम सांस्कृतिक टोलीलेसमेत देउसीभैलो कार्यक्रम आयोजना गरेका थिए । प्रदेशसभा सदस्य पियारी थापा, पार्टीका गण्डकी प्रदेश अध्यक्ष शङ्कर बरालसहितको टोली देउसीभैलोमा सहभागी भएका थिए ।




