सुर्खेत । कर्णालीका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीलाई आफूले चढ्दै आएको गाडी बुझाएर निवर्तनमान मुख्यमन्त्री महेन्द्रबहादुर शाही पैदलै डेरा पुगे ।
मंगलबार साँझ नवनियुक्त मुख्यमन्त्री जीवनबहादुरले सपथ लिएसँगै निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुरले गाडी जीवनलाई बुझाएर पैदलै हिडेर डेरा पुगेका हुन् ।
शपथ ग्रहणको औपचारिक समारोह सकिसकेपछि प्रदेश प्रमुख, निवर्तमान मुख्यमन्त्री र नवनियुक्त मुख्यमन्त्रीले केही समय गफगाफ गरे । त्यसपछिका केही दृश्य पनि निकै रोचक देखिए ।
जब, नयाँ मुख्यमन्त्री प्रदेश प्रमुखको कार्यालयबाट बाहिर निस्कन थाले, निवर्तमान मुख्यमन्त्री शाहीले आफू चढ्ने गाडी मुख्यमन्त्री शाहीलाई सुम्पिए । कर्णाली प्रदेश ०२००१ झ ००२३ नम्बरको स्कार्पियो गाडी उनले प्रयोग गर्दै आएका थिए ।
नयाँ मुख्यमन्त्री जीवनबहादुर शाही त्यही गाडी चढेर प्रदेश प्रमुखको कार्यालयबाट बाहिर निस्किएर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगे भने महेन्द्रबहादुर पैदल हिँडेरै डेरातिर लागे । शाहीले मंगलबार नै वीरेन्द्रनगरकै गुरुङ चोकमा एउटा सानो ‘फ्ल्याट’ भाडामा लिएका छन् ।




