संखुवासभा । अर्थमन्त्री जनार्दन शर्मालले गठबन्धन सरकार पूरा कार्यकाल टिक्ने विश्वास व्यक्त गरेका छन् । मंगलबार संखुवासभाको तुम्लिङटार विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै अर्थमन्त्री शर्माले गठबन्धन सरकार निरन्तर चल्नेमा कुनै शंका नरहेको बताएका हुन् ।
अहिलको सरकार जनताबाटै निर्वाचित प्रतिनिधिहरुको सरकार भएकोले पूर्ण कार्यकालसम्म रहने उनको भनाइ रहेको छ । ‘अहिलेको सरकार प्रतिगनकारी शक्तिलाई परास्त गरेर आएको हुनाले पूर्ण कार्यकाल चल्छ’ मन्त्री शर्माले बताउनु भयो ‘गठबन्धनको सरकाले संघीयता, लोकतन्त्र, गणतन्त्र र जनताका अधिकार संरक्षण गरेकोले सरकार ढल्ने कुरा निराधार हो ।’
प्रतिगमनकारी शक्तिले संसद भंग गरेर केही समय देशमा अस्थिरता सिर्जना गरेको उल्लेख गर्दै माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुखसमेत रहेका मन्त्री शर्माले प्रतिगमनकारीहरुले पटकपटक संसद विघटन गरेर देशलाई दुर्घटनामा पुर्याउन खोज्दा माओवादीसहितको गठबन्धन निर्माण भएको बताए ।
सङ्खुवासभाको खाँदबारी नगरपालिका ९ तुम्लिङटार विमानस्थल नजिकै आयोजित कार्यक्रममा मन्त्री शर्माले पूर्वी पहाडी क्षेत्रको संखुुवासभामा मात्रै अथाह स्रोत–साधन रहेको भन्दै यसको उपयोग गरे संखुवासभामा कायापलट हुने धारणा व्यक्त गरे ।
संखुुवासभामा किमाथाङ्का नाका, अरुण तेस्रो जलविद्युत् परियोजनालगायत थुप्रै सम्भावना रहेकाले नेपालको व्यापार घाटा घटाउन यो जिल्लाले सघाउ पुर्याउने मन्त्री शर्माको भनाइ थियो ।




