सप्तरी । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती भोलि कञ्चनरुप नगरपालिकामा विभिन्न कार्यक्रम गरीे मनाइँदैछ । सगरमाथा साहित्य परिषद् र प्रगतिशील लेखक सङ्घको आयोजनामा साहित्यिक गोष्ठी एवं शुभकामना आदानप्रदान हुने परिषद्का अध्यक्ष मनोहर पोखरेलले जानकारी दिएका छन् । यसअघि कञ्चनरुपमै १११औँ देवकोटा जयन्ती मनाइएकामा गत वर्ष कोभिड–१९ का कारण मनाउन नपाइएको उनले बताए ।
साहित्यिक गोष्ठीमा देवकोटाको जीवनी र योगदानबारे चर्चा हुनाका साथै साहित्यकारहरुले आ–आफ्ना सिर्जना वाचन गर्नुहुने कार्यक्रम छ । महाकवि देवकोटाको जन्म वि.सं १९६६ कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दस वर्षको उमेरमा कविता लेख्न सुरु गरेका उनका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । महाकवि देवकोटाका नेपाली साहित्यमा सयभन्दा बढी कृति रहनाका साथै ती नै कृतिका माध्यमबाट उहाँले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएका थिए ।
नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवत्र्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्ति झल्कन्छ । उनका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । भारतका महापण्डित राहुल साङृत्यायनले देवकोटालाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गरेका थिए ।
विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उहाँले महत्वपूर्ण योगदान दिएका छन् । महाकवि देवकोटाले अङ्ग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यास जस्ता १५ गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्धसङ्ग्र्रह’ प्रकाशन गरेका थिए । वि.सं २०१६ मा उहाँ शिक्षामन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रुपमा लागू गराएका थिए । तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दस दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका तत्काल लेख्न सक्ने साहित्यिक विशेषता र क्षमता थियो । वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा उनले सक्रिय योगदान पुर्याएका थिए ।




