काठमाडौँ । अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए) ले फाइजरले बनाएको कोरोनाविरुद्धको खोप ५ देखि ११ बर्षका बालबालिकालाई लगाउन अनुमति दिएको छ ।
यसअघि एफडीएको सल्लाहकार समुहले खोप लगाउन सकिने राय दिएको थियो ।
एफडीएले फाइजरको यो खोप बालबालिकामा ९०.७ प्रतिशत प्रभावकारी रहेको उल्लेख गरेको छ । ५ देखि ११ बर्षका ३१ सय बालबालिकामा गरिएको अध्ययनबाट यस खोपले कुनै साइड इफेक्ट नगरेको एफडीएले उल्लेख गरेको छ ।
साथै ५ देखि १२ बर्षका उमेरका बालबालिकाका लागि यो खोपको अध्ययन अमेरिका, फिनल्याण्ड, पोल्याण्ड र स्पेनमा गरिएको थियो । एफडीएले अहिले पनि खोपका विभिन्न पक्षका बारेमा अध्ययन जारी रहेको बताएको छ ।
फाइजरले गत सेप्टेम्बरमा नै आफुले बनाएको खोप बालबालिका लागि सुरक्षित रहेको बताएको थियो । अहिले १२ दखि १६ बर्ष उमेर समुहमा फाइजरको यो खोप लगाइएको छ । अब ५ देखि ११ बर्ष उमेर समुहलाई पनि फाइजरको खोप छिटै लगाउन सकिने भएको छ । अमेरिकी सरकारले नोभेम्बर पहिलो सातादेखि १५ मिलियन बालबालिकाका लागि खोप लगाउने अभियानको तयारी गरेको सिएनएनले उल्लेख गरेको छ ।




