हेटौडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको बाटो खुलेको छ ।
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुइ वा दुइ भन्दा दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई विहिबार ३ बजेसम्म मुख्यमन्त्री पदको दाबि गर्न आव्हान गरेका छन् ।
प्रदेश प्रमुख शर्माले संबिधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनको आव्हान गरेका हुन् ।
पाण्डेको नेतृत्वमा सरकार गठनको तयारी
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीनामा दिएपछि विपक्षी गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार गठन हुने भएको हो ।
गठबन्धनले यसअघि नै पाण्डेको नेतृत्वमा सरकार गठन गर्ने सहमति गरिसकेको छ । मुख्यमन्त्री शाक्यले आजै प्रदेश प्रमुख समक्ष राजीनामा बुझाईसकेकी छन् । अब बागमती प्रदेशमा गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले नेकपा (एस) ले सरकार बनाउने तयारी गरिसकेको छ ।
१०९ सदस्यीय बागमती प्रदेश सभामा सरकार बनाउन ५५ सदस्य आवश्यक पर्ने गर्दछ । बागमती प्रदेशसभामा एमालेका ४३, प्रमुख प्रतिपक्षी माओवादी २३ र कांग्रेस २२, नेकपा (एस)का १३, विवेकशील साझा दलका तीन, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का दुई, राप्रपाका दुई र जसपा का एक सदस्य रहेका छन् ।
मुख्यमन्त्री शाक्य भदौ २ गते नेपालकै पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन् । तर ५६ सदस्य रहेको एमाले विभाजन भएपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी थिइन् ।





