पोखरा । कास्कीको घान्द्रुकमा भएको जीप दुर्घटनामा परी मृत्यु भएका सबैजनाको सनाखत भएको छ ।
पोखराबाट अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुकमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा जीप चालक कास्कीको अन्नपूर्ण गाउँपालिका–५ नयाँपुल बस्ने ४२ वर्षीय खुशीमान क्षेत्री, जीपमा सवार काठमाडौं महानगरपालिका–३ गोंगबु बस्ने १८ वर्षीय जिनलव घिसिङ र सोही ठाउँका २४ वर्षीया सुजा चौधरी रहेका छन् ।
त्यस्तै गोंगबुकै २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुमन चौधरी, २२ वर्षीय अछुतम काफ्ले, १८ वर्षीय आशिष आले र गोरखा घर भई हाल काठमाडौँ गोंगबु बस्ने २७ वर्षीय विनय क्षेत्री रहेको प्रहरीले जानकारी दिएको छ ।
पोखराबाट घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप आज दिउँसो साढे १ बजेतिर हुदुस्थित सडकबाट आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।




