खेलकुद

ब्याट्सम्यान र बलर चम्किँदा विराटनगरमाथि ललितपुरको जित

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेटमा ललितपुर प्याट्रिएट्सले विराटनगर वारियर्समाथि जित निकालेको छ।

टियु क्रिकेट मैदानमा भएको खेलमा ललितपुरले वारियर्सलाई ३७ रनले पराजित गरेको हो । ललितपुरले दिएको इपिएलको इतिहासमै सबैभन्दा ठुलो २२७ रनको लक्ष्य पछ्याएको विराटनगर १८९ रनमै समेटिएको हो ।

विराटनगरका लागि दिलशान मुनाविरा अर्धशतक पारी खेले । उनले ३९ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ५९ रनको योगदान गरे । ओपनर चन्द्रपाउल हेमराजले २८ रन जोड्दा आसिफ शेखले ३७ रन बनाए । यस्तै ,सिकन्दर राजाले २९, करन केसीले ४ रन जोडे ।

यसैगरी अनिल कुमार शाहले ८, सुमित महर्जनले २, बसन्त रेग्मीले ९ रन बनाएका छन् । प्रतिश जिसीले ४ रन बनाए । सौरभ खनाल भने शून्यमै आउट भए ।

ललितपुरका लागि अजमतुल्लाह ओमरजाईले सर्वाधिक ४ विकेट लिए । ललितनारायण राजवंशीले २ विकेट लिँदा योगेन्द्रसिंह कार्कीले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको ललितपुरले पुरा ओभर खेलेर ५ विकेट गुमाउँदै २२६ रन बनाएको थियो ।

ललितपुरका लागि ओपनर सन्दुन वीराक्कोडीले सर्वाधिक ७३ रन बनाए । उनले ४३ बलमा १० चौका र ३ छक्काको मद्दतमा सो व्यक्तिगत स्कोर खडा गरेका हुन् । अजमतुल्लाह ओमरजाईले पनि अर्धशतक प्रहार गर्दै अविजित रहे । उनले ७ छक्काको सहयोगमा ५८ रनको योगदान गरे ।

अर्का ओपनर तथा कप्तान कप्तान कुशल भुर्तेलले वीराक्कोडीलाई राम्रो साथ दिएका थिए । भुर्तेल ३२ रन जोडेर आउट भए । यस्तै, योगेन्द्रसिंह कार्कीले २७ रन जोडे भने जयकिशन कोल्सावालाले १३ रन बनाए । यसैगरी नारायण जोशीले १८ रन जोडे । पवन सरार्फ २ रनमै आउट भए ।

यता, विराटनगरका लागि करण केसीले दुई विकेट लिए । सिकन्दर राजा, प्रतिश जिसी र दिलशान मुनाविराले समान एक/एक विकेट लिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *