काठमाडौँ । युनियन अफ युरोपियन फुटबल एसोसियसन (युइएफए) ले रियल म्याड्रिड, बार्सिलोना र युभेन्टसविरुद्धको कानुनी लडाई नलड्ने भएको छ ।
युरोपियन फुटबलका ठुला क्लबहरुले युरोपमा फुटबलको दयारा फराकिलो बनाउन सुपर लिगको आयोजना गर्ने घोषणा गरेको विषयमा युइएफले शुरु गर्ने भनेको कानुनी लडाई नलड्ने स्पष्ट गरेको छ ।
यस अघि गत मे मा युइएफले सुपर लिगको पक्षमा रहेका क्लबलाई च्याम्पियन्स लिगमा सहभागी हुन नदिने बताएको थियो ।
प्रिमियर लिगसहित महत्वपूर्ण क्लबहरु पछि हटेपछि सुपर लिगको अवधारणा तत्कालका लागि स्थगित भएको थियो । तर रियल म्याड्रिड, बार्सिलोना र युभेन्टस भने अहिले पनि सुपर लिग हुनुपर्ने पक्षमा रहेका छन् ।
गत अप्रिलमा घोषणा गरिएको सुपर लिगबाट ९ क्लब पछि हटेपछि यो योजना अगाडी बढेको थिएनन् । प्रिमियर लिग क्लबहरु म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी, आर्सनल, लिभरपुल, टोटनह्याम, स्पेनिस क्लब एटलेटिको म्याड्रिड तथा सिरी ए का इन्टर मिलन र एसी मिलानले शुरुमा सुपर लिगमा सहभागी हुने भनेपनि उनीहरुक फ्यानको विरोध र युइएफएको चेतावनी पछि सुपर लिगबाट पछि हटेका थिए ।
यस प्रकरणमा प्रिमियर लिग क्लबहरुले त लिगलाई ३१ मिलियन डलर जरिवाना समेत तिरेका थिए ।
तर रियल म्याड्रिडको नेतृत्वमा बार्सिलोना र युभेन्टसले भने सुपर लिगको पक्षमा आफ्नो अडान कायम राख्दै युइएफएसँग कानुनी लडाई लड्ने बताएका थिए । उनीहरुले आफुहरुले कुनै किसिमको प्रतिबन्ध र जरिवाना स्वीकार नगर्ने चेतावनी दिएका थिए ।
अब युइएफए कानुनी लडाईबाट पछि हटेपछि यस प्रकरणमा कुनै प्रतिबन्ध र जरिवाना झेल्नु नपर्ने भएको छ ।




