कर्णाली । कर्णाली प्रदेशसभा सचिवालयमा ‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ दर्ता भएको छ । प्रदेशसभा सदस्य नरेश भण्डारीले गैरसरकारी विधेयकका रुपमा सो विधेयकलाई सचिवालयमा दर्ता गराएका हुन् ।
पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका उनले सिंजा सभ्यताको संरक्षण गरी त्यहाँको सांस्कृतिक, ऐतिहासिक, सामाजिक, पुरातात्विक, धार्मिक एवं भाषिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विधेयक दर्ता गरेको बताए ।
उनले सिंजा सभ्यताका बारेमा राज्यले खासै चासो नदिएकाले ऐनमार्फत अधिकार सम्पन्न संरचना निर्माण गैरसरकारी विधेयक ल्याएको जानकारी दिए ।
उक्त विधेयकका मस्यौदामा सिंजा सभ्यताको संरक्षण तथा विकासका लागि आवश्यक नीति, निर्माण एवं कार्यकारी परिषद्लाई निर्देशन तथा रेखदेख गर्न प्रदेशका मुख्यमन्त्रीको अध्यक्षतामा सभा गठन गर्ने व्यवस्था गरिएको छ । उक्त परिषद्मा प्रदेश सरकारबाट नियुक्त हुने उपाध्यक्षसँगै जुम्लाको सिंजा क्षेत्राबट निर्वाचित प्रदेशसभा सदस्य, प्रदेश योजना आयोग, प्रमुख सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयय, सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था गरिएको छ ।




