खलङ्गा । प्लान इन्टरनेशनलको आर्थिक सहयोग र पेस नेपालको साझेदारीमा जुम्लाका स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिमार्फत स्थानीय तहलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।
कोभिड–१९ रोकथाम, न्यूनीकरण र प्रतिकार्यका लागि स्थानीय तह र जिल्लामा सञ्चालित आइसोलेशन केन्द्र र अस्पताललाई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत स्वास्थ्य सामग्री प्रदान गरिएको पेस नेपालका कार्यक्रम संयोजक हेमराज भट्टले बताए । उनले भने, “यहाँका स्थानीय तह, आइसोलेशन केन्द्र र अस्पताललाई १४ प्रकारको स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।” उनका अनुसार कूल रु १९ लाख १५ हजार ७७८ मूल्य बराबरको स्वास्थ्य सामग्री वितरण गरिएको छ । प्रदान गरिएको स्वास्थ्य सामग्रीमा पाँच लिटरको अक्सिजन कन्सिन्ट्रेटर सात थान, सर्जिकल मास्क ४६ हजार ६१० थान, ५०० एमएलको हेण्ड सेनिटाइजर ६३० बोतल, फूल पिपिइ सेट ४३८ थान, २०० एमएलको हेण्ड वास लिक्विड २५५ पिस, सर्जिकल पञ्जा १२ थान, पञ्जा पेयर एक हजार १०० र एननाइन्टी फाइभ मास्क २५० थान रहेका छन् ।
यसैगरी फेससिल्ड १२५ सेट, सेफ्टी गोगल्स १२५ सेट, हेभी डयुटी पञ्जा एक हजार थान, ४० लिटरको अक्सिजन सिलिण्डिर १२ पञ्जा, स्पोट चेकपल्स अक्सिमिटर ६० थान र एन्टिजेन किट ५०० थान प्रदान गरिएको संयोजक भट्टले जानकारी दिएका छन् ।
जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले गैर सरकारी संस्थाले प्रदान गरेको स्वास्थ्य सामग्री सही सदुपयोग गर्नुपर्ने बताए । आइसोलेशन केन्द्र, कोभिड अस्पताल र अस्पतालका लागि प्रदान गरिएको स्वास्थ्य सामग्रीको सदुपयोगले मात्र कोरोना सङ्क्रमण कम गर्न सकिनेमा यहाँका सरोकारवाला बताउँछन् । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले कोभिड सङ्कटका बेला दाताले गरेको सहयोग महत्वपूर्ण रहेको प्रजिअ प्रसार्इंले बताएका छन् ।




